जमुनाह नाकामा थेग्नै नसकिने फर्किने नेपालीको भीड (फोटो फिचर)

  बैशाख ०९, २०७८

नेपालगञ्ज, वैशाख ९ : भारतमा कोरोना सङ्क्रमण अत्यधिक बढेकोले हजारौंको सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किरहेकोले यतिखेर यहाँस्थित नेपाल भारत सिमानाको जमुनाह नाकामा थेग्नै नसकिने गरी नेपालीको भीड बढिरहेको छ ।

नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु कोरोना महामारीबाट बच्नका लागि फर्कने क्रममा जमुनाह नाकामा पुगेकोले अत्याधिक थेगिनसक्ने भीड छ ।

हजारौंको सङ्ख्यामा नेपालीहरु नाकामा पुगेकोले उनीहरुलाई सरल तरिकाले व्यवस्थापन गरी सम्बन्धित जिल्लासम्म पु-याउने पहल गर्नका लागि नाकामा खटिएका प्रहरीलाई हम्मे हम्मे परेको छ । व्यवस्थापनका लागि त्यहाँ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भीड सम्हाल्ननै समस्या भैरहेको जमुनाह प्रहरी प्रमुख सई विष्णु गिरीले बताउनुभयो ।

भारतबाट नेपाल फर्किने नेपालीहरुको सङ्ख्या हाल दैनिक पाँचदेखि छ हजारको हाराहारीमा रहेकोमा बिहीबार सो सङ्ख्या पनि धेरै बढेको उहाँले बताउनुभयो । जमुनाह नाकाबाट नेपाल प्रवेश गर्नेहरुमा अधिकांश लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु रहेका छन् ।

नेपालगञ्जमा ‘लकडाउन’ जारी भएपछि प्रहरीले बस व्यवसायीहरुसँग समन्वय गरी बस जमुनाह नाकासम्म पु-याई उनीहरुलाई बसपार्कसम्म पु-याइदिने र बसपार्कबाट आ–आफ्नो गन्तव्यतिर जाने व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले जानकारी दिनुभयो ।

भारतबाट नेपाल आउने प्रत्येक नेपालीहरुलाई जमुनाह नाकामा रहेको ‘हेल्थ डेस्क’ मा स्वास्थ्य चेकजाँच गरेर मात्र नेपाल पठाउने गरेको हेल्थ डेस्कका इन्चार्ज चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभएको छ ।

नेपाल आउने सबै नागरिकको ज्वरो मापन गरिने, कुनै व्यक्तिमा ज्वरो देखिए तथा रुघा खोकी जस्ता लक्षण देखिएमा उनीहरुको एन्टिजिन विधिमार्फत कोरोनाको जाँच गरिदै आएको ज्ञवालीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया