मलेसियाले नेदरल्याण्ड्सको सामना गर्दै, नतिजामा नेपालको नजर

  बैशाख ०८, २०७८

काठमाडौं, वैशाख ८ : नेपाल सम्मिलित त्रिकोणात्मक शृङ्खलाकाे पाँचौं खेलमा मलेसियाले नेदरल्याण्ड्सको सामना गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा नेदरल्याण्ड्ससँग मात्र १५ रनले हार बेहोरेको मलेसियाले आजको खेल जित्ने लक्ष्यसहित रङशालामा उत्रिनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा मध्यान्ह १२ बजेपछि उक्त खेल हुनेछ । पहिलो दुवै खेलमा हार बेहोरेको मलेसियाले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावनालाई जीवित राख्न नेदरल्याण्ड्स विरुद्धको खेल जित्नैपर्ने हुन्छ । नेदरल्याण्ड्सले भने मलेसियालाई सामान्य अन्तरले हराएको अवस्थामा समेत फाइनलमा स्थान सुनिश्चित गर्नेछ ।

नेदरल्याण्ड्सले पहिलो खेलमा नेपालसँग हार बेहोरेप नि दोस्रो खेलमा मलेसियालाई र तेस्रो खेलमा नेपाललाई हराएको थियो । नेदरल्याण्ड्सले आफ्नो अन्तिम खेलमा मलेसियालाई हराए फाइनलका लागि स्थान सुनिश्चित गर्नेछ ।

नेपाल विरुद्धको आफ्नो दोस्रो खेलमा २०६ रनको सफलतापूर्वक पछ्याएको नेदरल्याण्ड्स भने मलेसिया विरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । प्रतियोगितामा जीवित रहन नेदरल्याण्ड्सलाई हराउनैपर्ने भएकोले मलेसिया क्रिकेट टोलीले पूर्ण शक्तिसहित सामना गर्नेछ ।
नेदरल्याण्ड्सले मलेसियालाई हराएको अवस्थामा नेपाल लिगको एक खेल अगावै फाइनल पुग्नेछ ।

नेपालले लिगको अन्तिम खेलमा मलेसियाको सामना गर्नेछ । मलेसियाले भने बाँकी दुवै खेलमा जित हात पारे पनि नेपाल फाइनलमा पुग्ने सम्भावना जीवितै रहन्छ । नेट रन रेट उत्कृष्ट रहँदा लिग चरणमा तीनै टोलीले जित हात पार्ने अवस्थामा समेत नेपाल फाइनलमा पुग्नेछ ।

तपाईको प्रतिक्रिया