बङ्गलादेशलाई हराउँदै त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

  चैत १६, २०७७

काठमाडौँ, चैत १६ : त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त ग-यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त ग-यो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाली टोलीले शुरुआतदेखि नै बङ्गलादेश विरुद्ध आक्रामक खेलेको थियो । खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गर्नुभएको हो । उहाँ आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा नै गोल गर्न सफल हुनुभएको हो । यस्तै खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गर्नुभएको हो ।

पहिलो हाफमा नेपाली खेलाडीहरुले गोल गर्ने उत्कृष्ट प्रयास गरेका थिए । खेलको १३औँ मिनेटमा नेपाल गोल गर्नबाट चुक्यो । खेलको १६औँ मिनेटमा बङ्गलादेशी खेलाडीले रोहित चन्दलाई मैदानमा लडाएपछि नेपालले फ्रि किकको मौका पाएको थियो । अनन्त तामाङले हानेको बल गोलपोष्ट बाहिर पुग्यो ।

यस्तै खेलको २५औँ मिनेटमा नेपालले फ्रि किकको अवसर पाएको थियो । खेलको २८औँ मिनेटमा बङ्गलादेशले गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास नेपाली टोलीका गोलकिपर किरणकुमार लिम्बुले विफल पार्नुभयो । खेलको ३०औँ मिनेटमा अन्जन विष्टले गोल गर्ने उत्कृष्ट मौका गुमाउनुभयो । यस्तै ३१औँ मिनेटमा विशाल राई गोल गर्नबाट चुक्नुभयो ।

नेपालले मध्यान्तरअघिको खेलजस्तो आक्रामक खेल मध्यान्तरपछि खेल्न सकेन । फलस्वरुप बङ्गलादेशले खेलको ८३औँ मिनेटमा एक गोल गर्न सफल भयो । बङ्गलादेशका लागि रहमानले हेडमार्फत सान्त्वना गोल गर्नुभएको थियो । नेपालले खेलको अन्तिमतिर गोल गर्ने प्रयास गरेको थियो । तर, तेस्रो गोल गर्न भने नेपाल असफल रह्यो । अन्ततः नेपाल बङ्गलादेशविरुद्धको खेलमा २–१ गेलअन्तरले विजयी भयो ।

पूर्वकप्तान विराज महर्जनको बिदाइ
नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिनुभएको छ । उहाँले आजको खेलबाट सन्यास लिने यसअघि नै घोषणा गर्नुभएको थियो । पूर्वकप्तान महर्जनको दशरथ रङ्गशालामा आज भव्य रुपमा बिदाइ गरिएको छ । बङ्गलादेश विरुद्धको खेलमा उहाँ खेलको ८९औँ मिनेटमा मैदानमा प्रवेश गर्नुभएको थियो । उहाँ नेपालका तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी हुनुहुन्छ । महर्जनले ७३ खेल खेल्नुभयो ।

खेलको अवलोकन गर्न प्रधानमन्त्री ओली रङ्गशालामा
नेपाल र बङ्गलादेश बीचको फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला जानुभएको थियो । उहाँ खेल शुरु हुनु अगावै रङ्गशाला प्रवेश गर्नुभएको थियो । उहाँका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललगायत रङ्गशाला पुग्नुभएको थियो ।

नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो । उहाँले खेल अवधिभर रङ्गशालमा रहेर खेलाडीको हौसला बढाउनुका साथै विजेता तथा उपविजेता खेलाडी, प्रशिक्षक, रेफ्री, खेल पदाधिकारीलगायतलाई ट्रफी प्रदान गर्दै सम्मान गर्नुभएको थियो । प्रतियोगितामा नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गराएको थियो ।

तपाईको प्रतिक्रिया