माथिल्लो तामाकोशी जलविद्युत आयोजना : कठिन मानिएको ‘एक्सपान्सन ज्वाइन्ट’ जडान हुँदै

  चैत ०८, २०७७

काठमाडाै , चैत ८ : दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको एक्सपान्सन ज्वाइन्टको जाडान काम सुरु भएको छ । आयोजनाकै जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको १०० मिटर तर्सो भागमा एक्सप्यान्सन जोइन्टको जडान काम सुरु भएको हो ।

एक्सप्यान्सन ज्वाइन्टमा २ दशमलव पाँच मिटरको दुईवटा पेनस्टक पाइप जडान कार्य सुरु भएको माथिल्लो तामाकोशी आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो । सुरुको डिजाइन अनुसार एक्सप्यान्सन ज्वाइन्ट बन्न नसक्दा आयोजनाको काम प्रभावित भएको थियो । लट–२ का भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे इन्जिनियरिङले सुरुको डिजाइन अनुसारको एक्सप्यान्सन ज्वाइन्ट पाईप बनाएर पठाउन नसकेपछि डिजाइन संशोधन गरिएको थियो ।

नयाँ पाइप भारतमा ल्याएसंगै जडान कार्य थालिएको प्रबक्ता न्यौपानेले बताउनुभयो । ‘संशोधन गरी बनाइएको नयाँ डिजाइनको पाइप जडान कार्य दुई हप्तामा सकिने अनुमान गरेका छौँ ।’उहाँले भन्नुभयो । हाल लट –२ अन्तर्गतकै आयोजनाको भैंसे अडिट प्लग कार्य, माथिल्लो पेनस्टक अडिट प्लग कार्य, सर्ज सुरुङ अडिट प्लग कार्य, माथिल्लो पेन्स्टक स्याफ्टको बेन्ड राख्ने कार्य र तल्लो तेर्सो ेनस्टको कामहरू बाँकी रहेको र उक्त कार्यक्षेत्रमा कामहरू भइरहेको छ ।

आयोजनाको बाँध, इन्टेक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, पेनस्टक स्याफ्टहरु, भूमिगत विद्युतगृहको सिभिल र हाइड्रो मेकानिकल कार्यहरुको निर्माण सम्पन्न भइसकेको छ । भूमिगत विद्युत गृहमा टर्वाइन, जेनेरेटर, ट्रान्सर्फमर लगायतका सबै उपकरणहरुको जडान कार्य सम्पन्न भइसके छ । गोंगरदेखि रामेछापको देवीटारसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ भने देवीटारमा निर्माणाधीन २२०-१३२ केभी क्षमताको सवस्टेशनमा उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

डिस्याण्डिङ बेसिन परिक्षण शुरु
लामाबगरमा निर्माण गरिएको एक सय मिटर लम्बाई र २२ मिटर उचाइ भएको बाँधमा आईतवारदेखि पानी जम्मा गर्ने कार्य सुरु भएको छ । डिस्याण्डिङ बेसिनमा बालुवा थिग्राउने कामको परीक्षणका लागि पानी जम्मा गर्न लागेको हो ।

यो परीक्षण एक हप्तासम्म चल्ने आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। एक्सप्यान्सन ज्वाइन्ट पाईप जडान सहित हाल भइरहेको सम्पुर्ण काम चैतभरिमा सम्पन्न गरि सुरुङमा पानी पठाउने काम सुरु हुने आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले बताउनुभयो ।

बैशाखमा आयोजनाको ६ मध्ये एक युनिट सञ्चालन गरी ७६ मेघावाट बिद्युत उत्पादन थाल्ने लक्ष्य आयोजनाले राखेको छ । आठ सय २२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुख्खा मौसममा समेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया