सक्रिय संक्रमित संख्या १७ हजार ४१४ नाघ्यो, २५ हजार नाघे पुनः बन्दाबन्दी

  असोज ०८, २०७७

काठमाडौं, असोज ८ : दैनिक हजारभन्दा बढी कोरोना भाइरस संक्रमित बढिरहे पनि अहिले देशभरि १७ हजार ४ सय १४ जनामा मात्रै सक्रिय संक्रमण रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये ८ हजार २ सय २८ जना संस्थागत आइसोलेशनमा र ९ हजार १ सय ६६ जना घरमै छन् ।

त्यस्तै सबैभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा १० हजार भन्दा बढी सक्रिय सक्रिय संक्रमित रहेका छन् । त्यसमा पनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढी रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ७ हजार १ सय ६० सहित उपत्यकामा अहिले ८ हजार ७ सय १० संक्रमित घर र संस्थागत आइसोलेशनमा रहेका छन् । यो आकडाले काठमाडौं जिल्ला कोरोना भाइरस संक्रमणको ‘हट स्पटु’ ब्नदै गएको छ ।

सक्रिय संक्रमित २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरिएको छ ।

बुधबार बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे विद्यमान स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । त्यस्तै बुधबार दिउँसोसम्म नेपालका संक्रमण पुष्टि भएकामध्ये ४९ हजार ९ सय ५४ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया