दार्चुला, भदौ २२ : खार–खलङ्गा सडक मर्मत नहुँदा महाकाली नगरपालिका वडा नम्बर २ र ३ तथा नौगाड गाउँपालिकाका स्थानीयवासी अहिले जोखिम मोलेर आवत–जावत गर्दैछन् । गत साउन ५ गते आएको बाढी पहिराका कारण विभिन्न ठाउँमा पहिरो गएपछि सो क्षेत्रमा स्थानीयलाई आवत–जावत गर्न समस्या भएको हो ।
उक्त सडकको डुङुरी क्षेत्रसम्म बाटो सुधार गरिए पनि त्योभन्दा माथिल्लो क्षेत्रमा स्थानीयवासीलाई हिँड्डुल गर्न जोखिम छ । डुङुरीभन्दा माथिल्लो क्षेत्रमा पहिराका कारण स्थानीयवासीले साँघुरो बाटोमा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । त्यही पहिरामा पुरिएर एक बालकले यसअघि ज्यानसमेत गुमाइसकेका छन् ।
काटैभन्दा तल र मैखोलीभन्दा माथिल्लो क्षेत्रमा अहिले पनि स्थानीयवासीलाई हिँड्डुल गर्न जोखिम भएको नौगाड–२ का बासिन्दा गायत्री रावलले बताउनुभयो । अहिले महाकाली–३ काटैसम्म एक बोरा खाद्यान्न ढुवानी गरेबापत भरियाले रु ४०० भाडा लिन थालेका छन् । व्यापारी पद्म महराले विगतमा एक बोरा चामल ढवानी गरेबापत रु ५० तिर्दै आएकामा अहिले रु ४०० पुगेको बताउनुभयो ।
स्थानीय नन्दन नगाल अहिले बाटोको जोखिमका कारण गाउँघरमै खाद्यान्नको मूल्य बढेको बताउनुहुन्छ । भारी बोकेर जाँदा कहाँ पहिरामा फसिन्छ भन्ने डरले यस्तो बाटोमा भारी बोक्न पनि जोखिम रहेको उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरव योजनाअन्तर्गत सो सडकमा ग्राभलको काम सूचार भएका बेला बाढी पहिरो गएको हो । अहिले पनि निर्माण व्यवसायीले सडक सुधारमा ध्यान नदिँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।
पहिराले एक परिवार विस्थापित, आधा दर्जन जोखिममा
व्यास गाउँपालिका–५ तिगरममा घरतलबाट पहिरो जान थालेपछि एक परिवार विस्थापित भएको छ । महाकाली नदीले बस्ती तलबाट कटान शुरु गरेपछि स्थानीयवासी कलावती कुवँरको परिवार विस्थापित भएको हो । यस्तै सोही क्षेत्रमा बस्ने आधा दर्जन बढी परिवार पहिराको उच्च जोखिममा छन् ।
तिगरम पुलभन्दा तल्लो क्षेत्रमा अहिले महाकालीले पूरै कटान गरिरहेको छ । तटबन्ध समयमै निर्माण गर्न नसके तिगरम बस्ती पहिरामा पर्ने खतरा बढेको स्थानीयवासी धना कुवँरको भनाइ छ । यस्तै तारा कुवँर, नन्दा कुवँर, हेमन्ती कुवँर, राजमति कुवँर, गङ्गा कुवँर र धाना कुवँरका घर पहिराको उच्च जोखिममा परेका छन् । धानाको घर सडक काट्दा जोखिममा परेको हो ।
तिगरम पुल क्षेत्रदेखि झण्डै ५०० मिटर क्षेत्रमा तटबन्ध लगाउन पटक–पटक गाउँपालिका तथा महाकाली नदी नियन्त्रण आयोजनालाई आग्रह गर्दै आइरहेका पीडितहरूले बताएका छन् । यहाँका महिलाले अहिले पनि बस्ती जोगाउन तत्काल तटबन्धको व्यवस्थापन गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।






