तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

  ४ घण्टा अगाडि

काठमाडौँ, ८ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन (आसोज ११ गतेसम्म) देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी वर्षा, बाढी, आकस्मिक बाढी र पहिरोको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले यो प्रणालीको निरन्तर अनुगमन गरिरहेका छन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार सर्वसाधारणलाई बाढीको जोखिमसम्बन्धी पूर्वजानकारी लिनका लागि टोल फ्री नं ११५५ सञ्चालनमा ल्याइएको छ ।

बाढी र मौसमसम्बन्धी आधिकारिक ‘अपडेट’का लागि आधिकारिक ‘फेसबुक पेज’हरू Nepal Flood Alert तथा Nepal Weather Forecast एवं ‘वेबसाइट’हरू hydrology.gov.np र dhm.gov.np बाट नियमित बुलेटिन तथा सूचनाहरू प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी पूर्वानुमानको समयावधिमा महत्वपूर्ण विस्तार गरेको छ । यही असोज ७ गतेदेखि नै लागू हुने गरी प्रमुख नदीहरूमा बाढी पूर्वानुमानको समयावधि साबिकको तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याइएको छ ।

त्यसैगरी, देशभरका स-साना नदीहरूमा आउने आकस्मिक बाढीको जोखिम पूर्वानुमानको समयावधि पनि एक दिन (२४ घण्टा) बाट बढाएर दुई दिन (४८ घण्टा) सम्म विस्तार गरिएको मन्त्रालयले जनाएको छ । पूर्वानुमानको समयावधि थपिएसँगै सम्भावित बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त भई पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया