एसियाली खेलकुदमा डेब्युसँगै ओलम्पिक प्रवेशको लक्ष्यमा एमएमए

  ८ घण्टा अगाडि

नागोया (जापान), ५ असोज : कुनै समय अत्यधिक हिंसात्मक खेल भन्दै आलोचना खेपेको मिक्स्ड मार्सल आट्र्स (एमएमए) ले अब ओलम्पिकमा स्थान बनाउने लक्ष्यसहित आफ्नो अन्तरराष्ट्रिय अभियानलाई तीव्र बनाएको छ । यसैक्रममा एमएमएले जापानको नागोयामा जारी एसियाली खेलकुदमा पहिलो पटक स्थान बनाएको छ ।

फेडेरेसन अफ इन्टरनेसनल मिक्स्ड मार्सल आट्र्स (एफआईएमएमए) का महानिर्देशक गालास्टेन टानले एसियाली खेलकुदमा समावेश हुनु एमएमएका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार कुनै पनि खेल महादेशीय प्रतियोगितामा समावेश हुनु भनेको त्यसको प्रशासनिक संरचना, सदस्यता, खेलाडी, नियम र प्राविधिक व्यवस्थाको परिपक्वता पुष्टि हुनु हो ।

एसियाली खेलकुदमा थाइल्याण्ड, काजाकिस्तान, फिलिपिन्स र जापानलगायतका देशका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) मा प्रयोग हुने अष्टकोणीय ‘केज’को सट्टा यहाँ खुला म्याटमा प्रतिस्पर्धा गराइएको छ । टानका अनुसार केज प्रयोग नगर्नुको कारण ओलम्पिकका मूल्य–मान्यतासँग मेल खाने प्रतियोगिता ढाँचा अपनाउनु हो ।

एमएमएलाई ओलम्पिकमा समावेश गराउने प्रयासमा प्रतियोगिताका नियमहरूलाई अन्तरराष्ट्रिय रूपमा एकरूप बनाउनु र सबै पक्षबीच सहमति कायम गर्नु मुख्य चुनौतीका रूपमा रहेको छ ।

सिङ्गापुरकी खेलाडी तेओ हुई हुनले एसियाली खेलकुदमा समावेश भएपछि एमएमाप्रति युवापुस्ताको आकर्षण बढ्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार यसले नयाँ प्रतिभालाई राष्ट्रिय टोली हुँदै भविष्यमा ओलम्पिकसम्म पुग्ने स्पष्ट अवसर प्रदान गर्नेछ ।

एमएमा मात्र होइन, टेकबल र प्याडेलजस्ता नयाँ खेलहरूले पनि भविष्यमा ओलम्पिकमा स्थान बनाउने प्रयास गरिरहेका छन् । त्यसैले अन्तरराष्ट्रिय ओलम्पिक समिति (आईओसी) को मान्यता प्राप्त गर्ने प्रतिस्पर्धा निकै कडा रहेको छ ।

टानले आईओसी तथा अन्य सम्बन्धित निकायसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै एमएमा विश्वव्यापी रूपमा लोकप्रिय, व्यवस्थित र ओलम्पिकका लागि तयार खेल बनिसकेको दाबी गर्नुभयो । उहाँका अनुसार सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि समय कम भए पनि भविष्यमा ओलम्पिकमा समावेश हुने सम्भावना खुला छ ।

एमएमाको लोकप्रियता पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढे पनि यसलाई अझै पनि हिंसात्मक खेलका रूपमा हेर्ने धारणा कायम छ । सन् १९९० को दशकमा अमेरिकी सिनेटर जोन म्याककेनले यस खेललाई ‘मानिसहरूको भाले जुधाइ’ भन्दै आलोचना गर्नुभएको थियो । यद्यपि हाल यूएफसीको विश्वव्यापी सफलतासँगै एमएमए मुख्यधारको खेलका रूपमा स्थापित हुँदै गएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया