नेकपाका दुई अध्यक्षबीच वार्ता, खनाल र नेम्वाङ पनि सहभागी

  साउन २०, २०७७

काठमाडौं, साउन २० : पार्टीभित्र विद्यमान संकट अन्त्यको प्रयासका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता शुरुभएको छ ।

गत आइतबारदेखि नियमित भइरहेको दुई अध्यक्षबीचको बार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको नेकपाका नेताहरुको बुझाई छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बालुवाटारमा साँझ ५ बजेपछि शुरुभएको वार्तामा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पनि सहभागिता छ ।

अध्यक्षद्वयबीच साउन १३ गतेपछि बार्तार र संवाद हुन सकेको थिएन । १८ गतेदेखि नियमित छलफल हुन थालेपछि समस्या समाधान हुनेमा नेकपाका नेता तथा कार्यकर्ता आशावादी हुन थालेका छन् ।सोमबारको बैठकमा ‘जेरी’ को चर्चा राम्रोसँग चल्यो ।

आज मंगलबारको बैठकमा ‘तिते करेली’ खाएर मीठो सहमति गर्ने जनाउ प्रधानमन्त्री ओलीले सोमबार आफ्नै निवास बालकोटमा नेता कार्यकर्तासँगको भेटघाटमा भन्नुभएको थियो । जेरी खाएर शुरु गरेको वार्ता संवाद मीठो हुन नसकेपछि तिते करेली खाएर मीठो परिणाम निकाल्ने ठट्टा प्रधानमन्त्री ओलीले गर्नुभयो ।

असार १० देखि शुरुभएको नेकपा स्थायी कमिटी बैठक टुङ्गोमा पुग्न सकेको छैन । अझै स्थायी कमिटीका आधा संख्यामा सदस्यहरु बोल्न बाँकी हुनुहुन्छ । अध्यक्ष प्रचण्ड पक्षका नेताहरुले भने केन्द्रीय कमिटी बैठकको लिखित माग गरेका छन् । प्रधानमन्त्री ओलीले अहिले कोरोनाका बेला केन्द्रीय कमिटी बैठक बस्न उचित नभएकोभन्दै अस्वीकार गर्दैआउनुभएको छ । 

तपाईको प्रतिक्रिया