कालाे दिनका रूपमा मनाउने तयारी गरेपछि भारत प्रशासित काश्मिरमा कर्फ्यु

  साउन २०, २०७७

काठमाडौं, साउन २० : भारत प्रशासित काश्मिरमा कर्फ्यु लगाइएको छ । भारतले विशेष राज्यको दर्जा खारेज गरेको दिनलाई विभिन्न समूहले ‘कालो दिन’को रुपमा मनाउने तयारी गरिरहँदा कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार अधिकारीहरुले प्रदर्शनको क्रममा हुने सम्भावित हिंसा रोक्न कर्फ्यु लगाइएको बताएका छन् । कोभिड–१९ को सङ्क्रमण सर्ने जोखिमलाई लिएर भिडभाड नगर्न समेत यस प्रकारको बन्देज लगाइएको अधिकारीहरुले जनाएका छन् । भारतको संघीय सरकारले अगष्ट पाँचमा जम्मु काश्मिरलाई विशेष राज्यको दर्जा दिएको संविधानको धारा ३७० मा संशोधन गरेको थियो ।

जस अनुसार जम्मु काश्मिरलाई दुई प्रान्तमा विभाजन गरेर अर्ध स्वायत्त राज्यको अधिकार समेत खारेज गरेको थियो । एक वर्ष बितेको उक्त दिनलाई कालो दिनको रुपमा मनाउने तयारी भइरहँदा क्षेत्रमा तनाब बढेको बीबीसीले जनाएको छ । सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

कोभिड–१९ ले लगाइएको लकडाउनमा कडाइ हुँदा हिंसा र प्रदर्शनको घटना नियन्त्रित देखिएको बीबीसीले उल्लेख गरेको छ । तीन जना पूर्ब मुख्यमन्त्रीहरु नजरबन्दमा राखिएका छन् । जम्मु काश्मिर भारतको एक मात्र मुस्लिम समुदाय बाहुल्य भएको राज्य थियो, जहाँ दशकौंदेखि भारत विरोधी गतिविधि हुँदै आएको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया