वडाध्यक्षसहित पर्सामा थप ३८ जनामा संक्रमण पुष्टि

  साउन १९, २०७७

वीरगञ्ज, साउन १९ : नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको आईतबार साँझ आएको रिर्पोट अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सहित थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार साउन १५ गते वीरगञ्ज–११ मा रहेको श्रीपुर स्कुलमा स्वाब नमूना दिएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सहित थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२६ देखि ६४ वर्ष उमेर समूहका ४ महिला सहित थपिएका ३८ जना संक्रमितहरुमा मास टेस्टिङ्गका लागि लिईएको स्बाव र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्बाव संकलन गरिएका मात्र रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले जानकारी दिनुभयो ।

आईतबार साँझ नयाँ थपिएका संक्रमितहरुमध्ये अधिकांश बीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका छन् । आईतबार साँझ आएको पिसिआर परिक्षण रिर्पोट अनुसार बीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका २७ जना , वडा नं. १० घडिअर्वाका १ जना, बीरगञ्ज वडा नं. ४ विर्ताका एक जना, बीरगञ्ज वडा नं. १५ भिस्वाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रहरीका १ जना र नेपाली सेनाका एक जनामा , सखुवाप्रसौनी गाँऊपालिका र जिराभवानी गाँउपालिका सेढवाका एक÷एक जनामा पनि संक्रमण देखिएको छ । शनिबार थपिने संक्रमितमा बारा जिल्लाका तीन जना र एक जना भारतीय नागरिक पनि रहेका छन् ।

बीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरको एक होटलका एक व्यक्तिमा समेत शनिबार संक्रमण पुष्टि भएपछि संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । यसैबीच, नारायाणी कोरोना विशेष अस्पतालबाट आईतबार कोरोना संक्रमण मुक्त भएर सात जना डिस्चार्च भएका छन् । अस्पतालका ईन्चार्ज डा. निरज सिंहले तीन जना महिला र चार जना पुरुष गरी सात जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिए ।

साउनयता पर्सामा ३ सय ९० नयाँ संक्रमित थपिएका छन् । पर्सामा संक्रमितको सख्या ५ सय ४२ पुगेको छ । आईतबार ३५ जना शनिबार ४५, शुक्रबार ६५, बिहीबार ४४, बुधबार ५४ जनामा मंगलबार ३४ जना र सोमबार १५ जना गरी पछिल्लो १ हप्तामा २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया