उपत्यकामा ३१ सहित २४६ जनामा सङ्क्रमण, कुल २० हजार ३३२

  साउन १८, २०७७

काठमाडौँ, साउन १८ : कोरोनाभाइरसका २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएकोमा २४६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको सङ्ख्या २० हजार ३३२ पुगेको बताउनुभयो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १११ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

काठमाडौँ उपत्यकामा आज थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ जिल्लामा २२, ललितपुरमा आठ र भक्तपुरमा एकजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैबीच, राससका अनुसार कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १११ रहेको छ । योसँगै १४ हजार ६०३ सङ्क्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । हाल क्वारेन्टिनमा १० हजार ९३४ जना रहेका छन् । सङ्क्रमितमध्ये ७२ प्रतिशत निको भएको र मृत्यु हुनेमा ०.२८ प्रतिशत रहेको छ ।    

पर्सामा शनिबार साँझ ६८ वर्षकी एक महिलाको निधन भएको छ । मधुमेहको बिरामी ती महिलामा यही साउन १६ गते कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ जना पुगेको छ ।    
    
मन्त्रालयका अनुसार रौटहट र कैलाली जिल्लामा पाँच हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ भने भोजपुर, सङ्खवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला कोरोना सङ्क्रमण शून्य रहेको छ । प्रवक्ता डा गौतमले ६० वर्षमाथिका र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गर्नुभएको छ ।    
    
उहाँले सरकारले यही साउन १४ गते कोभिड–१९ का विषयमा गरेको निर्णयअनुसार आरडीटी परीक्षण नगर्ने निर्णय भएको हुँदा केन्द्र तथा प्रदेश सरकार सबैले उक्त निर्णयको पालना गर्न आग्रह गर्नुभयो । मन्त्रालयका अनुसार उपत्यका छिर्ने नाकाहरू नागढुङगा, फर्पिङ र साँगाबाट यही साउन १० गतेदेखि १३ गतेसम्म सङ्कलन भएको १० हजार ८२७ नमूना परीक्षण भइरहेको छ । मास्क, सेनिटाइजर प्रयोग गरी सुरक्षित रहन प्रवक्ता डा गौतमको आग्रह छ ।  

तपाईको प्रतिक्रिया