बिर्तामोड र अर्जुनधारा नगरपालिकामा लकडाउन गर्ने निर्णय

  साउन १८, २०७७

बिर्तामोड, साउन १८ : झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेका छन् । बाह्रदशी गाउँपालिकाले भने लगाएको लकडाउन आइतबारदेखि खुल्ला गरेको छ ।

गाउँपालिकाको बैठकले सङ्क्रमितको सम्पर्कमा आएका सबै ४१ जनाको रिपोर्ट नेगेटिभ आएपछि लकडाउन हटाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताउनुभयो ।
बाह्रदशीका एक जना नेकपाका नेता र अर्का स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि सोमबार रातिदेखि बाह्रदशीको वडा नं १, २ र ३ सिल गरिएको थियो ।

यता, आइतबार बिहान ५ बजेदेखि २२ गते राति १२ बजेसम्म अर्जुनधारा नगरपालिकाले लकडाउन घोषणा गरिसकेको छ भने बिर्तामोड नगरपालिकासमेत आइतबार राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताउनुभयो । आवश्यकता हेरी कति दिनसम्म लकडाउन गरिने भन्ने निर्णय गरिने सिग्देलले बताउनुभयो ।

बिर्तामोड नगरपालिकाका एक महिला प्रहरीमा कोरोना सङ्क्रमित भएको र उनी कार्यरत क्षेत्र अनि किनमेल गरेका पसलहरू र उपचारमा गएको बजरङ्ग मेडिकल हललगायतलाई सिल गरिएको जनाइएको छ । बिर्तामोडका व्यवसायी तथा राजनीतिक नेता कार्यकर्ताहरू गरी ११६ जना होम क्वारेन्टाइनमा रहेकाले आइतबारदेखि लकडाउन गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक सिग्देलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया