काठमाडौँ पुग्नै लागेका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

  साउन १७, २०७७

काठमाडौँ, साउन १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दाङ, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले स्रोत नखुलेको अस्वभाविक रुपियाँसहित प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।

आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गामा बा २ झ ४०९९ नम्बरको गाडीलाई रोकेर चेकजाँच गरेपछि उपाध्याय स्रोत नखुलेको रुपियाँसहित पक्राउ परेका छन् । आयोगले प्रमुख प्रशासकीय अधिकृत उपाध्याय शुक्रबार साँझ काठमाडौँ आउँदै गरेको गोप्य सूचनाको आधारमा टोली परिचालन गरेको थियो ।

आयोगको टोलीले उपाध्यायबाट एक लाख २४ हजार ७५० रुपियाँ नगद र फिक्स बैङ्क डिपोजिट गरेको १४ लाख ४८ हजार ७९६ रुपियाँको रसिद फेला पारेको हो । शुक्रबार साँझ नै अख्तियारको नियन्त्रणमा लिइएका उपाध्यायबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया