सङ्क्रमित थपिँदै जाँदा स्थानीय तहले लकडाउन घोषणा गर्न थाले

  साउन १७, २०७७

राजविराज, साउन १७ : सप्तरीमा सङ्क्रमितको सङ्ख्या बढ्दैगएपछि जिल्लावासी त्रसित भएका छन् । राजविराज नगरपछि जिल्लाका अन्य स्थानीय तहहरूले पनि अनिश्चितकालका लागि लकडाउन जारी गर्न थालेको छ ।

राजविराज नगरमा एक सङ्क्रमित वृद्ध व्यापारीको मृत्युपछि सङ्क्रमित दिन प्रतिदिन थपिँदै जाँदा ७ गतेदेखि अनिश्चितकालीन लकडाउन गरेको छ । त्यसको भोलिपल्टदेखि जिल्ला सुरक्षा समितिको बैठकले नगर क्षेत्रभित्र अर्को सूचना जारी नहुन्जेलसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

साउनयता नगरभित्रै करिब ४० जना थपिएका छन् । तीमध्ये मृतक सङ्क्रमतिको वडा नम्बर ६ कै करिब २६-२७ जना रहेका छन् । मृतकको संसर्गबाटै अहिलेसम्म ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

यस्तै राजविराजसँग जिल्लाको सबै स्थानीय तहरूको सम्पर्क रहने गरेको छ । स्थानीय तहहरूका बासिन्दा एवम् कर्मचारीलाई राजविराज नगरमा रहेको सम्बद्ध कार्यालय, खरिद व्यापार, व्यवसायलगायत कामको लागि आउजाउ गर्नुपर्दा राजविराजबाट स्थानीय तहसम्म कोरोना सङ्क्रमण फैलिनसक्ने सम्भावना रहेको छ । यसै कुरालाई मध्यनजर गर्दै जिल्लाका अधिकांश स्थानीय तहहरूमा पनि अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन जारी गरेको छ ।

जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । राजविराजपछि अहिलेसम्म डाक्नेश्वरी नगरपालिका, कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णसवरन गाउँपालिका, राजगढ गाउँपालिकालगायत आधा दर्जन स्थानीय तहले लकडाउन घोषणा गरिसकेका छन् । स्थानीय तहहरूले आफ्नो क्षेत्रअन्तर्गतका हाट बजार, पसल, यातायात बन्द गर्नुको साथै सार्वजनिक स्थलमा भीडभाड, सामूहिक कार्य, सामाजिक भोजभतेरलगायत कार्य नगर्न आग्रह गरिएको छ ।

कञ्चनरुप नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले जारी गरेको सुचनामा साउन १८ गतेदेखि लागू हुने गरी अनिश्चित कालका लागि सेवा बन्द रहने बताउनुभयाे । कोरोना सङ्क्रमण समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै उच्च जोखिम न्यूनीकरणका लागि नगरपालिका र वडा कार्यालयहरूसमेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको उल्लेख छ । शनिबारदेखि नै लागू हुनेगरी नगर क्षेत्रभित्रका हटिया, गुद्री र बजार अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको उहाँले बताउनुभयो ।

अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र निस्किनै परेर अनिवार्य रुपमा मास्क लगाउन, साबुन पानीले हात धुन पनि आग्रह गरेको छ । यसैगरी, राजगढ र अग्नीसाइर कृष्णसवरण गाउँपालिकाले गत मङ्गलबारदेखि नै अनिश्चितकालका लागि सार्वजनिक सेवाहरू बन्द गरेका छन् । सप्तरीमा हालसम्म सङ्क्रमित सङ्ख्या ४७३ पुगेको छ ।

तपाईको प्रतिक्रिया