उपत्यकामा ३८ सङ्क्रमित थपिए, २५ जना विभिन्न नाकाबाट भित्रिएका थिए

  साउन १६, २०७७

काठमाडौँ, साउन १६ : काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ३८ जना नयाँ काेराेना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको काठमाडाैँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा ३८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।

काठमाडाैँमा कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर वृद्धि हुँदै गएपछि गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान सात बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले उपत्यका प्रवेशमा कडाइ गर्ने र अनावश्यक रुपमा सवारी प्रवेश अनुमति जारी नगर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा काठमाडाैँका अाठ जनामा सङ्क्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा तीन जना काठमाडाैँ र दुई जना ललितपुरका बिरामीमा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पाटन अस्पताल, ललितपुरमा चार जना, नेपाल प्रहरी अस्पतालमा १९ जना तथा नेपाल कोरिया मैत्री अस्पतालमा एक जना तथा वीर अस्पतालमा एक जना गरी काठमाडाैँमा कुल ३८ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

यसअघि बिहिबार काठमाडाैँमा ४५ जना सङ्क्रमित थपिएको थियो । बुधबार १५ तथा मङ्गलबार ५३ जना सङ्क्रमितको पुष्टि भएको थियो ।

काठमाडाैँ प्रवेश गर्ने तीन हजार ७४१ मध्ये २५ जना सङ्क्रमित
मन्त्रालयका अनुसार काठमाडाैँ उपत्यका प्रवेशको तीनवटै नाकाबाट करिब दश हजार आगन्तुकको स्वाब सङ्कलन गरिएको छ । जसमध्ये तीन हजार ७१३ जनाको परीक्षणको नतिजा आएकोमा २५ जना सङ्क्रमितको पुष्टि भएको छ । बिहीबार २४ जना र शुक्रबार थप एकजना आगन्तुकमा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो पाँच दिनमा काठमाडाैँ प्रवेशको तीनवटै नाकाबाट दश हजार २०५ जनाको स्वाब सङ्कलन गरिएको छ । उपत्यका प्रवेश गर्ने बीपी राजमार्गको साँगाबाट तीन हजार ९७८ जनाको स्वाब सङ्कलन गरिएको छ । हेटौँडा हुँदै कीर्तिपुर पुग्ने फर्पिङ नाकाबाट एक हजार ३०७ जना र थानकोट नाकाबाट पाँच हजार ७२० जनाको स्वाब सङ्कलन गरिएको छ ।

तपाईको प्रतिक्रिया