बझाङका पहिरो पीडितका लागि हेलिकाेप्टरमार्फत राहत सामग्री पु-याइयो

  असार २०, २०७७

बझाङ, असार २० : बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका-८ मल्लेसी गाउँमा १८ घर परिवारको उठीबास भएपछि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकाेप्टरमार्फत राहत सामग्री ल्याएको छ । शनिबार दिउँसो सुर्खेतबाट उडेको हेलिकाेप्टरले धनगडीबाट राहत सामग्री ल्याएर सदरमुकाम चैनपुरनजिकै रहेको भोपुर ब्यारेकमा अवतरण गरेको हो ।

पहिरो पीडितहरूका लागि खाद्यान्न, लुगा कपडा, पाल र भाँडाकुँडाहरू ल्याइएको बताइएको छ । राहत सामग्री घटनास्थलसम्म लानका लागि गाडीहरू तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो । उहाँले राहत सामग्री तत्काल बाँड्ने समेत बताउनुभयो । पहिरोमा परी छ जनाको मृत्यू भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । शनिबार बिहान स्थानीय र सुरक्षाक्रमीहरूले पहिरोमा पुरिएका छ जनाका शव निकालेका छन् ।

आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया राममति जेठारा र उहाँकी १५ वर्षीया छोरी शान्ति जेठारा, ११ वर्षीया छोरा प्रयागराज जेठारा र छोरी ७ वर्षीया अस्मिताको शव निकालेको घटना स्थलबाट प्रहरी सहायक निरीक्षक रायभान सिंह ऐरीले बताउनुभयो । उहाँका अनुसार ८० वर्षका दले जेठारा, १२ वर्षीय सन्तु जेठाराको शव पनि निकालिएको छ भने पहिरोमा पुरिएका २० वर्षीय गिरीजा जेठाराको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया