बिरामीका आफन्तले भने- भाग्यले यस्ताे सरकार र चिकित्सक पायाैँ

  बैशाख २६, २०७७

विराटनगर, वैशाख २६ : आफन्तले कोरोना संक्रमण परास्त गरेको खबर सुनेपछि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आएका छरछिमेक र घरपरिवारका सदस्यले शुक्रबार आफ्नो खुशी थेग्न सकेनन् ।

उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा रहेकै बखत कोरोना संक्रमित हुनुभएका विराटनगर–१७ का ७२ वर्षीय आइनो मियाँ र ६० वर्षीय इजरायल मियाँसहित ८ जना डिस्चार्ज हुनु भएपछि आफन्त र छरछिमेकमा खुशी छाएको हो । त्यसअघि गत बुधबार ६ जनालाई कोरोना भाईरसमुक्त बनाएर अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

घरका सदस्य र पाहुनाको डिस्चार्ज हुनुपूर्व अस्पताल परिसरमा ‘शुक्रिया सरकार, शुक्रिया मन्त्री र शुक्रिया चिकित्सक तथा स्वास्थ्यकर्मी’ लेिखएकाे प्लेकार्ड बोकेर आफन्तले उत्साह मात्रै प्रकट गरेनन्, उपचारमा संलग्नहरुकाे हौसला पनि बढाए । उचित समयमा प्रदेश सरकारले गरेको निर्णयबाट अस्पताल सञ्चालनमा आएकोप्रति स्याबासीसमेत दिन भ्याए ।

आफन्तसँगै इस्लाम धर्मालम्बीहरुको तबलिगी जमात समुहका १६ जनामा कोरोना संक्रमण देखिएको थियो । यीमध्ये १२ जना भारतीय नागरिक वा पाहुना थिए । नेपाल आएका बखत पाहुना समेत संक्रमित हुनुले धेरैलाई चिन्ता बढाएको थियो । विराटनगरका मुस्लिम अगुवा युवा चाँद इराकीले भन्नुभयो–संसारमै यस्तो अपूर्व सहयोग सायद कहीँ हुन्नथियो, भाग्यले सरकार र चिकित्सक पायौँ।

उहाँले रमजान महिनामा तबलिकी जमातमा रहेकाहरुका लागि रोजा (ब्रत) बस्ने वातावरणदेखि नमाज पढ्ने अवसर समेत दिलाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार गर्नु उदाहरणीय भएको बताउनुभयाे । ’कुनै पनि शब्दले प्रदेश सरकारको वर्णन गर्नसक्ने अवस्था छैन’, इराकीले भन्नुभयो, ‘सहि समयमा अस्पताल बनाउनु, उचित उपचार गर्नु र सम्मानपूर्वक विदाई गर्नेहरु हाम्रा आदरणीय हुनुहुन्छ ।’

गत बैशाख ४ गतेसम्म प्रदेश भित्र एकजना पनि नागरिकमा कोरोना संक्रमण देखिएको थिएन । प्रदेश सरकार संक्रमित छैनन् भनेर ढुक्कले नबसी विराटनगरको कोशी अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याईसकेको थियो ।

त्यही अस्पताल बैशाख ५ गतेपछि ३१ संक्रमितको भार थेग्दै १४ जनाको उपचारमा सफल भइसकेको छ । बाँकी रहेका १७ जनाको समेत अवस्था सुधाराेन्मुख रहेका कारण यही हप्ता खुशीका खबरह सुन्न पाउने अपेक्षा चिकित्सकहरुले राख्दै आएका छन् ।

‘हामीलाई प्रदेश सरकारले भर दिएकैले हौसला प्राप्त ग¥यौँ’, कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा भन्नुहुन्छ, ‘त्यही हौसलाको परिणाम हामीले दिईरहेका छौँ ।’ उपचार मात्रै नभई अस्पताल व्यवस्थापनका लागि चार घेराको संयन्त्र सामाजिक विकास मन्त्रालयले निर्माण गरेको छ ।

संक्रमितको उचित स्वास्थ्य सुरक्षाका लागि सचिव रबवलाल पन्थकाे संयोजकत्वमा अस्पताल सञ्चालन निर्देशन समिति गठन गरिएको छ । यो समितिका मातहतमा अस्पताल प्राविधिक समिति मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्रा र अस्पताल व्यवस्थापन समिति जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतको संयोजकत्वमा रहेको छ ।

त्यस बाहेक प्राविधिक समितिमातहत वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलको संयोजकत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन समिति र फिजिसियन डा. डेनप्रसाद आचार्यको संयोजकत्वमा संक्रमित उपचार समिति रहेको छ । अस्पताल व्यवस्थापन समितिले उपचारमा संलग्न चिकित्सकको दैनिक व्यवस्थापन र बिरामीको व्यवस्थापनको काम गर्दैआएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले अब संक्रमितको उपचारका लागि कुनै समस्या नभएकोले ‘थ्रि टी’ विधी सुरुवात गरिने बताउनुभयो । ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ विधी कार्यन्वयन गरेर कोरोना विरुद्धको उपचार प्रणाली अगाडी सारिएको मन्त्री घिमिरेले बताउनुभयो । त्यसका लागि मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताको नेतृत्वमा ट्रेसिङ्ग, प्रादेशिक प्रयोगशाखाका प्रमुख डा.जयवेन्द्र यादवको संयोजकत्वमा टेस्टिङ र कोशी अस्पताल मेसु संगीता मिश्राको संयोजकत्वमा ट्रिटमेन्ट टोली परिचालन गरिने भएको हो ।

हौसलासहित २५ स्वास्थ्यकर्मीलाई घर पठाइयो
कोभिड–१९ उपचार केन्द्रमा गत वैशाख ५ गतेदेखि संक्रमितको उपचारमा खटिनुभएका २५ जना स्वास्थ्यकर्मीको टोलीलाई शुक्रबार नै घर पठाइएको छ । प्रदेश सरकारले विराटनगरको इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा राखेका स्वास्थ्यकर्मीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले बधाई तथा शुभकामना दिँदै सम्मानका बिदाई गर्नु भएको हो ।

बिदाई कार्यक्रममा मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालक मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रालेसमेत स्वास्थ्यकर्मीको साहसको प्रशंसा गर्नु भएको थियो । त्यस क्रममा मन्त्री घिमिरेले प्रदेश १ सरकारले कोरोना उपचारका लागि गरेको कामको संघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएकोे बताउँदै कुनैपनि समस्या हुन नदिने प्रयास गरिने बताउनुभयो ।

आवश्यक परेको खण्डमा पुनः सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्दै मन्त्री घिमिरेले अहिलेसम्म पु-याएको योगदानको उच्च मुल्यांकन हुने बताउनुभयो । पहिलो चरणमा डा. डेनप्रसाद आचार्यको नेतृत्वमा २५ जनाको टिम रहेको थियो । ७ दिन अस्पतालमा बसेको टिम १४ दिन क्वारेन्टाईनमा बसेपछि शुक्रबार घर पठाइएको हो । डिस्चार्ज हुनुअघि स्वास्थ्यकर्मीमा गरिएको पीसीआर परीक्षणमा सबैकाे रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया