ताप्लेजुङमा आगलागीबाट सात करोड क्षति

  बैशाख २०, २०७७

ताप्लेजुङ, वैशाख २० : सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ । आज सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार रु सात करोड ६५ लाख ७२ हजार ७०० बराबरको क्षति भएको छ ।

सोमध्ये व्यक्तिगत रु सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ रु २२ लाख ४७ हजार ७०० को क्षति भएको पाइएको हो । आगलागीले आठ घर जलेका थिए । अन्य केही घरमा आंशिक क्षति भएको थियो । आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् । आगलागीले आठ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो । पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण सङ्कलन गर्न समिति बनेको थियो ।

राति करिब १०ः३० बजेदेखि शुरु भएको आगलागी बिहान मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागी प्रभावित परिवारलाई आज रेडक्रस, फुङ्लिङ नगरपालिका र ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आइतबार बैठक बसी क्षति विश्लेषण गरी राहत दिने तयारी गरेको छ ।

फर्निचर उद्योगमा आगलागी हुँदा एक करोड क्षति
पोखरा महानगरपालिका वडा नं ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ ।

डेढ वर्षअघि दुर्गाप्रसाद भट्टराई र विकास क्षेत्रीले सञ्चालन गर्नुभएको विशेष फर्निचर उद्योगमा आज भएको आगलागीमा रु ७० लाखको फर्निचरका सामग्री र रु ३० लाख बराबरको भौतिक संरचना जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयसहित दमकल र पानी ट्याङ्करको सहयोगमा लगभग डेढ घण्टामा आगो नियन्त्रणमा आएको हो । लकडाउनको समय भएका कारण फर्निचरमा कामदार कोही नभएकाले विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने सञ्चालक दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया