लकडाउनलाई थप कडा पार्दै प्रशासन

  बैशाख ०५, २०७७

हेटौँडा, वैशाख ५ : बाग्मती प्रदेशका विभिन्न जिल्लामा सरकारद्वारा घोषित लकडाउनलाई थप कडा पारिने भएको छ । कतिपय जिल्लामा तरकारी तथा फलफूल किन्न पनि प्रतिबन्ध लगाइएको छ भने कतै सवारी पाससमेत खारेज गरिएको छ ।

यसैगरी प्रदेशभित्रका जिल्लामा भारत तथा तेस्रो मुलुक गएर फर्किएर आएका व्यक्तिको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणले तीव्रता पाएको छ । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार सात सय ९१ जनाको आरडीटी परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाइँले आरडीटीको प्रदेशमा रहेका पाँच हजार किटमध्ये चार हजार तीन सय किट जिल्लामा वितरण गरिएको बताउनुभयो ।

गाउँ जान हिँडेका यात्रु अलपत्र
काभ्रे समाचारदाता मधुसुधन तिमल्सिनाका अनुसार जिल्ला तथा स्थानीय तहले आवागमनमा कडाइ गरेपछि उपत्यका छाडेर गाउँ जान हिँडेका यात्रु अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अतिआवश्यक कामबाहेकका यात्रुलाई आवतजावत गर्न रोक लगाएपछि जिल्ला प्रवेश गर्ने मुख्य नाका साँगामा यात्रु अलपत्र परेका हुन् ।

लकडाउन पुनः वैशाख १५ गतेसम्म बढेपछि काठमाडौँको थानकोटामा बस्दै आउनुभएका कर्णबहादुर विक बिहान ३ बजे नै कोठाबाट निस्कनुभएको थियो । जिल्ला प्रशासन कार्यालयले अन्यत्र जिल्लामा जानेसमेतलाई हिँड्न रोक लगाएपछि विकसँगै आएका छ बालबालिका र अन्य गरी २० जना साँगामै रोकिनुभएको छ ।

त्यस्तै बेलुका १ बजे नै ललितपुरको सातदोबाटोबाट उदयपुर जिल्लाको कटारी नगरपालिका हिँड्नुभएकी सञ्जिता विकलाई साँगामा रोकिएपछि तनाव भएको छ । उहाँले दुःखेसो गर्दै भन्नुभयो, अब हामी कहाँ गएर बस्ने, कोठामा जाउँ घरभेटीले बस्न दिँदैन घर जाउँ जान पाइँदैन ।

सवारी पास खारेज
धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय धादिङले हाललाई सवारी पास खारेज गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीको अवधि वैशाख १५ गतेसम्म धादिङका औषधि पसलबाहेका सबै पसल र ढुवानी सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । यसअघि धादिङमा अत्यावश्यक खाद्यान्न पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ६ बजेसम्म खुला गरिएको थियो ।

सीमावासी आन्दोलित
सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको समयमा चीनसँगको उत्तरी सीमा तातोपानी नाकाबाट अति आवश्यक सामग्रीभन्दा अन्य सामग्री ल्याउन लागिएपछि सीमा क्षेत्रका स्थानीय आन्दोलित भएका छन् ।

वैशाख २ गते मितेरी पुलमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी नेतृत्वको सरकारी कर्मचारी र चिनियाँ सरकारी अधिकारीबीच भएको बैठकमा खाद्यान्न र स्वास्थ्य सामग्री आयात गर्ने सहमति भएको थियो । भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले तातोपानी नाकाबाट लसुन, फलफूललगायतका सामान ल्याउन लागिएपछि रोक्न सीमावासी आन्दोलित भएको जानकारी दिनुभयो ।

बन्दाबन्दीमा कडाइ
नारायणगढ समाचारदाता वसन्त पराजुलीका अनुसार जिल्ला प्रशासन कार्यलय चितवनले शुक्रबारदेखि बन्दाबन्दीलाई थप कडाइ गर्ने भएको छ । जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले बन्दाबन्दीलाई थप कडाइ गर्ने निर्णय गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

“कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै अब चितवनमा मान्छेको आवगमन रोक्ने गरी लकडाउनलाई कडाइ गरिने निर्णय भएको छ”, उहाँले भन्नुभयो, लकडाउन छ अब लखर लखर हिँड्नेलाई सुरक्षाकर्मीले पक्राउ गरेर कारबाही गर्छ । यसअघि कोरोना नियन्त्रण कार्यदल चितवनको बैठकले कोरोना सङ्क्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै बन्दाबन्दीलाई कडाइ गर्न सुझाव दिएको थियो ।


भीमेश्वरको ढोका बन्द
जिरी समाचारदाता कैलाश लामाका अनुसार दोलखाको भीमेश्वर नगरपालिकाको दोलखास्थित प्रसिद्ध भीमेश्वरको मन्दिर पहिलोपटक बन्द गरिएको छ । देशमा सङ्कट तथा अनिष्ट हुनुभन्दा पहिले पसिना नकालेर सङ्केत दिने प्रसिद्ध भीमेश्वर मन्दिर कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण पहिलोपटक बन्द गरिएको हो । मन्दिर हालसम्म कहिल्यै पनि बन्द गरिएको थिएन ।

कोरोना भाइरस रोगबाट बच्न र बचाउन सबै जिम्मेवार रहेकाले मन्दिरमा दर्शनार्थीका लागि बन्द गरिएको पुजारी मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चैत ११ गतेदेखि लागू हुने गरी अर्को सूचना नहुञ्जेलका लागि मन्दिर बन्द गरिएको छ । भीमेश्वर मन्दिरको दैनिक पाँच पटक गरिने नित्य पूजाबाहेकका अन्य सबै पूजा बन्द गरिएको छ ।

राहत सामग्री हस्तान्तरण
रसुवा समाचारदाता हेमनाथ खतिवडाका अनुसार रसुवामा कोरोना भाइरस (कोभिड(१९) को प्रकोप प्रभावितका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धुन्चेमा नेकपा अध्यक्ष कन्र्याल लामा र संविधान सभा सदस्य जनार्दन ढकालले संयुक्त रूपमा राहत सामग्री प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक अर्जुन भण्डारीलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष लामाले सर्जिकल मास्क र ग्लोभ्स् तथा संविधान सभा सदस्य ढकालले चामल, पीपीई सेट, ह्यान्ड स्योनिटाइजर प्रदान गर्नुभयो ।

तरकारी र खाद्यान्नमा एक साता प्रतिबन्ध
सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार सिन्धुली जिल्लामा तराईका विभिन्न ठाउँबाट आयात गरिने खाद्यान्न तथा हरियो तरकारीलगायतका वस्तुको आपूर्तिमा एक साताका लागि प्रतिबन्ध लगाइएको छ ।

यहाँ बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको उच्च जोखिमबाट बच्न तथा नियन्त्रणका लागि तराईको जिल्लाबाट सिन्धुली जिल्लाको प्रयोजनमा ल्याइने सामग्री आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले तराईका जिल्लाबाट आयात गरिने खाद्यान्न, फलफूल, माछा, मासु, अण्डा, कुखुराका चल्ला र हरियो तरकारीमा सात दिनका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिनुभयो ।  

तपाईको प्रतिक्रिया