भैरहवामा सेनासहितको सुरक्षा जाँच

  बैशाख ०४, २०७७

लुम्बिनी, वैशाख ४ : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको पालना नगरी सर्वसाधारण हिँडडुल गर्न थालेपछि भैरहवा क्षेत्रमा आज देखि नेपाली सेनासहितको सुरक्षा जाँच शुरु भएको छ ।

जिल्ला सुरक्षा समिमिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार जिल्लाको सीमावर्ती क्षेत्रमा नेपाली सेनाको सुरक्षा गस्ती बढाइएको हो । उहांँले भन्नुभयो, “सेनाको सुरक्षा गस्ती बढाइएको हो । आवश्यकताअनुसार नेपाल प्रहरीसँंगको समन्वयमा जाँच पनि हुन्छ ।”

सेनाले सरकारले निर्दिष्ट गरेको सवारी साधन दमकल, एम्बुलेन्स तथा सुरक्षा– खाद्यान्न तथा तरकारी– फोहर उठाउने– डेरीका गाडीबाहेक अन्य सवारी साधनलाई कडाइका साथ रोक्न शुरु गरेको छ । भैरहवाको देवकोटा चोकमा जाँचचमा खटिनुभएका नेपाली सेनाका हवल्दार पूर्णबहादुर भट्टराईले भन्नुभयो, “सवारी पास पनि मान्य हुँदैन । अत्यन्तै जरुरी कामबाहेक बाहिर हिँडडुल गर्नेलाई पनि हामी रोक्छौंँ । लकडाउन उल्लघंन गर्न दिँदैनाँैं ।”

लकडाउनका समयमा पनि साना सवारी साधन चलाएर सर्वसाधारण ओहोरदोहोर गर्ने क्रम बढेपछि सेनाको सुरक्षा जाँच र गस्ती बढाइएको सुरक्षा अधिकारीले बताएका छन् । नेपाली सेनाको गस्ती टोलीले भैरहवा शहरका मुख्यमुख्य चोकमा नियमित गस्ती गर्ने बताइएको छ । दिनभर सुनसान हुने भैरहवा शहरमा बिहानसांँझ भने अत्यन्तै चहलपहल बढेको छ । गल्लामन्डी, हनुमान मन्दिर, शान्तिनगर, खजुरिया, भैरहवा गाउँ, डाँडागाउँ, बिपीपथ, उदयपुर, गोलीगढ क्षेत्रका पसल निस्फिक्री चलिरहेका छन् ।

नेपाल प्रहरीले बारम्बार माइकिङ गरेर पसल नखोल्न अनुरोध गर्दा पनि अटेर गरेपछि सुरक्षालाई ध्यानमा राखेर नेपाली सेना परिचालन गरिएको बताइएको छ । भैरहवा सीमावर्र्ती भारतीय शहर सुनौलीसँंग जोडिएको क्षेत्र हो । यहांँ भारतीय पनि प्रवेश गर्न सक्ने भन्दै सशस्त्र प्रहरी बलले सीमामा थप सुरक्षा तैनाथी बढाएको छ । सीमावर्ती भारतीय क्षेत्र कोल्हुइ र बस्तीमा कोरोनाको संक्रमण बढेपछि भारतीय विभिन्न बहानामा नेपाल प्रवेश गर्न सक्ने आशंका बढेको छ ।

सीमा क्षेत्रबाट कसैलाई पनि आवतजावत गर्न नदिने गरी सुरक्षा तैनाथी गरिएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया