पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्यो कोरोना विशेष अस्पताल

  बैशाख ०३, २०७७

काठमाडौं, वैशाख ३ : सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमितको उपचार गर्ने थलो तोकेपछि विशेष कक्ष तयार पारिएको छ । मगंलबार दुई संक्रमित त्यहाँ भर्ना भई उपचार गराइरहेका छन् ।

यसअघि ४२ जना कोभिड–१९ का शंकास्पद बिरामी भर्ना भई उपचार लिइसकेको अस्पतालका निर्देशक डा.विष्णुप्रसाद शर्माले बताए। ‘जतिबेला चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिरहेको थियो त्यतिबेलै स्वास्थ्य मन्त्रालयले हामीलाई तयार रहन निर्देशन दियो, तुरुन्तै आइसोलेसन बेड छुट्याउन भनियो,’ उनले भने, ‘भर्ना भएर उपचार लिइरहेका १० जना बिरामी अन्तै सारेर हामीले पाँच बेडको आइसोलेसन बेड छुट्यायौं।’

बिरामीबाटै उठेको रकमले चल्ने अस्पताललाई बिरामी सारेर आइसोलेसन बेड तयार गर्न मुस्किल भएको उनले बताए। संक्रमणको जोखिम बढ्दै गएपछि कोभिडका लागि थप तयारी गर्नुपर्ने स्थिति आयो। थोरै जनशक्ति र सीमित पूर्वाधारबीच अस्पतालले गरेको तयारी राम्रो छ। वार्डलाई विस्तार गरी कोभिडकै लागि अस्पतालले चार तले भवन तयार गरिसकेको छ। अस्पतालको सेवा विस्तारका लागि नयाँ भवन निर्माण भैरहेको थियो। त्यही नयाँ भवनलाई अहिले कोभिड १९ का लागि छुट्याएको छ। जहाँ १५ जना संक्रमित राख्ने क्षमता छ।

‘भुँइचालोले भत्काएको भवनलाई हामी पुननिर्माण गर्दै थियौं,’ डा.शर्माले भने, ‘प्रशासनिक प्रायोजनका लागि बनिरहेको भवन अब कोभिड उपचार भवनमा परिणत भयो।’ यही भवनमा ज्वरो क्लिनिकदेखि आइसोलेसन वार्ड छन्। शंकास्पद बिरामी राख्न ६ वटा आइसोलेसन कोठा छन्।

मगंलबारसम्म आइसोलेसनमा चार जना शंकास्पद बिरामी भर्ना थिए। यस्ता बिरामी सिथिल भए विशेष उपचारका लागि १४ भेन्टिलेटरसहित २१ बेडको आईसीयू तयार रहेको उनले बताए। ‘अस्पतालको आईसीयू सेवा विस्तारका लागि हामीले तयारीमा यी समान खरिद गरेका थियौं,’ उनले भने, ‘संयोगले आज यसरी काम लाग्यो यो पुर्वाधार।’ कोभिडकै उपचारमा खटिने चिकित्सक र नर्स तथा अन्य जनशक्ति गरी ४० जना तयार राखिएको उनले बताए। जसले विभिन्न टिममा विभाजन भएर काम गर्नेछन्। तीमध्ये ८ जना अहिले पालैपालो गरी ज्वरो क्लिनिकमा खटाइएका छन्।

शंकास्पद र संक्रमित बिरामी हेर्ने चिकित्सक र स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा अपनाइएको उनले बताए। ‘आइसोलेसनमा खट्ने सबैलाई पीपीईको व्यवस्था छ,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनको मान्यताप्राप्त पीपीई अभाव भएकाले अस्पतालमा आफैं बनाइएका स्थानीय पीपीईको प्रयोग भइरहेको छ।’ अस्पतालले हालसम्म दुई सयको हाराहारीमा पीपीई सिलाइसकेको छ भने दैनिक पाँचवटासम्म पीपीई अस्पतालकै चार कर्मचारीले सिलाइरहेका छन्। दुई हजारको संख्यामा कपडाका मास्क पनि अस्पतालमै सिलाइएको छ।

‘पानी र हावा नछिर्ने कपडाको पीपीई बनेको छ,’ उनले भने, ‘हामीलाई यो लगाएर काम गर्दा सुरक्षित नै महशुस हुन्छ, आवश्यक परेको ठाउँमा मात्रै एन–९५ र सर्जिकल मास्क दिइन्छ।’ भोलि मास्कबिनै काम गर्नुपर्ने स्थिति नआओस् भनेर कर्मचारीलाई त्यही अनुसार मास्क दिइएको उनले बताए।

धेरै कर्मचारीले कपडाकै मास्क लगाएर काम गरिरहेका छन्। पीपीईलाई संक्रमणमुक्त बनाएर पुनःप्रयोग गर्ने गरिएको छ। पीपीई जोगाउन यसो गरिएको उनको भनाई छ। ‘संक्रमणमुक्त बनाउन अटोक्लेभ गर्दा पीपीईको आयु र गुणस्तर घट्दो रहेछ,’ उनले भने, ‘त्यसैले एउटै पीपीई धेरै प्रयोग हुन्छ भन्ने आशा गर्ने स्थिति छैन।’ भोलिका दिनमा बिरामी बढेमा अस्पतालमा भएका पीपीईले नपुग्ने उनले बताए। अस्पतालमा एक हजार पाँच सय कर्मचारी छन्। सबै कर्मचारी अहिले अस्पताल आउँदैनन्। ५० प्रतिशत कर्मचारीलाई बिदा दिएर अस्पतालको भीड कम गरिएको डा. शर्माले बताए ।

संक्रमित बिरामी हेर्ने चिकित्सक अस्पतालमै
कोभिड १९ संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई अस्पतालमै बस्ने सुविधा छ। ६० कर्मचारी अट्ने खालको आवास व्यवस्था भएको निर्देशक डा. शर्माले बताए। संक्रमित बिरामी हेरेका चारजना कर्मचारी अहिले अस्पतालमै बसिरहेका छन्। ‘हुन त पीपीई लगाएर बिरामी हेरेपछि सुरक्षित नै भइन्छ,’ उनले भने, ‘तैपनि चिकित्सकलाई घर जान अप्ठेरो छ, जान चाहदैनन् भने खानबस्न सुविधा छ।’ भोलिका दिनमा ६० जनाभन्दा बढी कर्मचारी राख्नुपर्ने अवस्था आए पनि अस्पतालले व्यवस्था गर्ने उनले बताए।

बिरामीको चाप घट्दो
कोभिड संक्रमण बढ्न थालेपछि अस्पतालमा अन्य बिरामीको चाप घट्दो छ। अस्पतालले कुनै पनि सेवा बन्द भने गरेको छैन, ओपीडी पनि खुला छ। दैनिक दुई हजार बिरामी पस्ने अस्पतालमा अहिले मुस्किलले डेढ सय आउने गरेको उनले बताए। आकस्मिक कक्षमा पनि दैनिक ५० जना बिरामी आउने गरेका छन्।

अस्पतालमा ज्वरो या संक्रमणका बिरामी जहाँसुकै नघुमुन भनेर विषेश सावधानी अपनाइएको छ। क्लिनिकमा त ज्वरो नापिन्छ नै आकस्मिक कक्षबाहिर पनि फेरि तापक्रम हेरेर मात्रै आगन्तुक भित्र छिराइन्छ। यसलाई डा. शर्मा ‘डबल स्क्यानिङ’ भन्छन्। अस्पताल छिर्ने जोसुकैलाई एक मिटरको ‘डिस्टेन्स मेन्टेन’ गरेर आफ्नो सुरक्षा आफै गर्न भनिएको छ। अस्पताल मुलगेटमा हात धुन धारा र साबुन राखिए पनि यसको व्यवस्थापनमा निकै कमजोरी देखिएको छ।

संक्रमित समान्य
अस्पतालमा अहिले दुईजना संक्रमित भर्ना भए पनि उनीहरूको स्वास्थ्य सामान्य रहेको उनले बताए। सामान्य भएकाले कुनै औषधिसमेत दिइएको छैन। सनसिटी अपार्टमेन्टमा बस्ने उनीहरुको आरडिटी पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा गरिएको पिसिआर परीक्षणमा पनि पोजिटिभ देखिएपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया