भारतीय क्वारेन्टाइनमै मनाए नेपाली मजदुरले ‘बिसु’

  बैशाख ०२, २०७७

बैतडी, वैशाख २ : बैतडीसहित सुदूरपश्चिममा नयाँ वर्ष अर्थात् बिसु मनाइएको छ । बिसुमा नयाँ लुगा लगाउने, मिठोमसिनो खाने चलन रहिआएको छ । बिहानै नुवाइधुवाइ गरेर विभिन्न मठमन्दिरमा पूजाआजा गर्ने चलनसमेत रहिआएको छ ।

यो वर्ष कोरोनाका कारण बिसुको रौनक भने नभएको स्थानीयवासीले बताएका छन् । परदेशिएकाहरु गाउँघरमा आउन नपाउँदा र लकडाउनका कारण बिसुको रौनक नभएको दशरथचन्द नगरपालिका–१ का देवदत्त भट्टले बताउनुभयो ।

कोरोनाका कारण बैतडीका विभिन्न मठमन्दिर तथा शक्तिपीठमा लाग्ने बिसु जात्रासमेत स्थगित भएका छन् । बिसुको समयमा गाउँघरमा हुने चहलपहलसमेत यो वर्ष नभएको स्थानीयवासी बताउँछन् ।

बिसुमा देवर–भाउजु, नन्द–भाउजुले एकापसमा सिस्नु लगाएर रमाइलो गर्ने चलन रहिआएको भए पनि यो वर्ष कोरोनाका कारण कुनै रौनक नभएको स्थानीयवासीले बताएका छन् । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ ।

क्वारेन्टाइनमै मनाए बिसु
बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाटका विभिन्न स्थानमा बसेका नेपाली मजदुरले क्वारेन्टाइनमै बिसु मनाएका छन् । जारी लकडाउनका कारण स्वदेश फर्कन नपाएपछि उनीहरुले क्वारेन्टाइनमै बिसु मनाएका हुन् ।

बिसुका लागि घर फर्कने योजना रहेको भए पनि सीमानाका बन्द हुँदा घर फर्कन नपाएको पुर्चौंडी नगरपालिका–८ का दीर्घराज जोशीले बताउनुभयो । “बिसुको अवसरमा घरमा मिठोमसिनो खाने चलन रहेको भए पनि क्वारेन्टाइनमै भात खाएर बिसु मनाएका छौँ,” उहाँले भन्नुुभयो, “परदेशी भूमिमा चाडपर्व मनाउन निकै खल्लो भएको छ ।”

क्वारेन्टाइनमा बसेको १४ दिन भइसकेकाले स्वदेश फर्काउन उहाँले माग गर्नुभयो । दीर्घराजजस्तै २५० बढी नेपाली मजदुर सीमावर्ती झुलाघाटका विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा बसेको १४ दिन भइसकेको र क्वारेन्टाइनमा समेत खानाको समस्या भएकाले स्वदेश फर्काउन अनुरोध गरेको पुर्चौंडीका लोकेन्द्र पार्कीले बताउनुभयो ।

सीमाक्षेत्रमा क्वारेन्टाइनमा बसेका नेपालीलाई स्वदेश फर्काउन कार्ययोजना बनाएर गृह मन्त्रालयमा पठाएको र मन्त्रालयबाट योजना कार्यान्वयनको आदेश आउनेबित्तिकै स्वदेश फर्काइने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको भनाइ छ ।

यसअघि चैत २४ गते सर्वोच्च अदालतले सरकारलाई भारतीय क्वारेन्टाइमा रहेको नेपाली मजदुरी स्वदेश ल्याउन आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया