महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

  चैत २४, २०७६

काठमाडौँ, चैत २४ : नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । झण्डै तीन दशकभन्दा बढी समय मुलुकको केन्द्रीय बैंकको विभिन्न भूमिकामा रहेर काम गर्नुभएका अधिकारी आगामी पाँच वर्षसम्म सोही बैंकलाई नेतृत्व प्रदान गर्नुहुनेछ ।

अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिले अधिकारीसहित तीनजनाको नाम सिफारिस गरेको थियो । समितिले अधिकारीसहित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र केही समयपहिले मात्रै अर्थ सचिवबाट अवकाश हुनुभएका राजन खनालको नाम सिफारिस गरेको थियो । सिफारिस समिति यही चैत १८ गते गठन भएको थियो । तीनजनामध्ये सरकारले अधिकारीलाई नियुक्त गरेको हो ।

तत्कालीन गभर्नर नेपाल नियुक्ति हुँदासमेत अधिकारी गभर्नरका लागि तीनजनामा पर्नुभएको थियो । नेपालले यही चैत ५ गते गभर्नरको पाँचवर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएको थियो । सिफारिश समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट दुईजना छान्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

यस्तै एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नरमध्येबाट छान्नुपर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार नै अधिकारीलाई नियुक्त गरिएको हो । खोटाङमा जन्मनुभएका अधिकारीले भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गर्नुभएको छ । चार्टर्ड एकाउन्टेन्टको पृष्ठभूमिबाट राष्ट्र बैंकको गभर्नर बन्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ । हालका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा उहाँको कार्यकाललाई सफल बनाउन सहयोग पु¥याउने मध्येका एक अधिकारी हुनुहुन्थ्यो ।

राष्ट्र बैंकमा रहेर डेपुटी गभर्नरको महत्वपूर्ण भूमिकासमेत सफलतापूर्वक निर्वाह गर्नुभएका अधिकारी पछिल्लो चार वर्षदेखि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । अधिकारीले बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर दुईवटा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समेत आयोजना गर्नुभयो । बोर्डले संयोजन गरेका केही आयोजना कार्यान्वयनको चरणमा छन् । भारतीय कम्पनी सतलज विद्युत् निगमले सङ्खुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यस्तै नेपाली साझेदारसहित चिनियाँ लगानीकर्ता समूहले होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याइसकेको छ । यस्तै धादिङमा अर्को चिनियाँ समूहले ह्वासिन सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेशन’ मा सन् १९८९ मा स्नातक गर्नुभएको छ भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिनुभएको छ । केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरिसकेको अनुभव अधिकारीसँग छ ।

कोरोनाको कहरका कारण विश्वव्यापीरुपमा नै अर्थतन्त्रमा सङ्कट देखापरेको छ । त्यसको असरबाट नेपालसमेत अछुतो रहनसकेको छैन । यस्तो विषम अवस्थालाई अर्थतन्त्रलाई सुधार गर्दै लयमा ल्याउनु नै अधिकारीका लागि तत्कालको महत्वपूर्ण कार्यभार रहेको छ ।

कोरोना सङ्क्रमणका कारण विश्व आर्थिक मन्दीको अवस्था र त्यसले नेपालको आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई कम गर्न सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएका निकायसँग समन्वय गर्नुपर्ने धरातलीय यथार्थ रहेको छ । बैंकिङ क्षेत्रलाई कोरोनाले पार्ने प्रभाव कम गर्दै सही दिशामा लैजानसमेत उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको छ । तत्कालीन गभर्नर डा नेपालले नेपालको वित्तीय क्षेत्रमा गरेका केही सुधारमा समेत अधिकारीको भूमिका थियो ।

रासससँगको कुराकानीका क्रममा समेत तत्कालीन गभर्नर नेपालले अधिकारीको भूमिकाबारे खुलेर प्रशंसा गर्नुभएको थियो । केन्द्रीय बैंकको नेतृत्व सम्हाल्दै गर्दा अधिकारीले अघिल्ला गभर्नरले अगाडि बढाउनुभएको ‘बिग मर्जर’, बैंकिङ सुशासन र वित्तीय साक्षरता अभिवृद्धिका लागिसमेत काम गर्नुपर्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया