धनगढीमा उपचाररत काेराेना संक्रिमतका परिवारका सात र अन्य दुईमा संक्रमण पाइएन

  चैत २३, २०७६

धनगढी, चैत २३ : धनगढीका कोरोना सङ्क्रमित व्यक्तिको परिवारका सात जना सदस्यको स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएको छ । सङ्क्रमित व्यक्तिका श्रीमती, छोरी, आमा बुबा, दाजु र दाजुका सन्तानहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

यो परिवार नौ सदस्यीय रहेको छ । सेती प्रादेशीक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीका अनुसार सङ्क्रमित व्यक्तिको परिवारको आठ र दुई जना नजिकका आफन्त गरी १० जनाको थ्रोट स्वाब नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

परिवारको आठ जनामध्ये सङ्क्रमितका भाउजुको रिपोर्ट हिजो नै आइसकेको छ । ३४ वर्षीया उहाँलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । परिवारका बाँकी सात जना सदस्यको रिपोर्ट भने नेगेटिभ रहेको डा. जोशीले जनाउनुभयो । उहाँले दुई जना आफन्तको रिपोर्ट आउन बाँकी रहेको उल्लेख गर्नुभयो ।

सङ्क्रमित व्यक्ति दुबईबाट भारतको दिल्ली हुँदै चैत ७ गते नेपाल फर्किनु भएको थियो । ११ गते सेती प्रादेशीक अस्पतालको आइसोलेशन कक्षमा भर्ना हुनु भएको उहाँको कोरोना पोजेटिभ पुष्टि भएको थ्रोट स्वाब रिपोर्ट चैत १४ गते आएको थियो ।

दुबईबाट कोरोना सङ्क्रमित भएर आउनु भएका ती व्यक्तिबाट नेपालमा पहिलो पटक कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको पुष्टि भएको छ । उहाँबाट कोरोना उहाँको भाउजुलाई सरेको छ ।

तपाईको प्रतिक्रिया