अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

  ३ घण्टा अगाडि

मेलबर्न, ७ भदौ : अस्ट्रेलियामा पहिलो पटक स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ-नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि अधिकारीहरूले पुष्टि गरेका हुन् ।

कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले सङ्क्रमित सिल दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको बिचपोर्टमा फेला परेको बताउनुभयो । “अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो”, कोलिन्सले पत्रकारलाई बताउनुभयो ।

सङ्क्रमित जङ्गली चरा वा तिनको साझा वातावरणको सम्पर्कमा आएपछि सिलमा भाइरस सरेको हुन सक्ने उहाँले बताउनुभयो । हालसम्म यो घटना अन्य बिरामी वा मृत समुद्री स्तनधारी जीवसँग सम्बन्धित रहेको कुनै प्रमाण फेला नपरेको उहाँले उल्लेख गर्नुभयो ।

अधिकारीका अनुसार अस्ट्रेलियाभर एच-५ बर्ड फ्लुका २९८ सङ्क्रमण पुष्टि भएका छन् । तीमध्ये १८३ वटा घटना दक्षिण अस्ट्रेलियामा देखिएका छन् । यद्यपि, अस्ट्रेलियाको कुखुरापालन तथा कृषि उत्पादन प्रणालीमा एच–५ बर्ड फ्लुको सङ्क्रमण फैलिएको कुनै प्रमाण फेला नपरेको अधिकारीले बताएका छन् । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया