एथेन्समा बढ्दो गर्मीसँगैपर्यटकबिच टोपीको माग बढी

  ४ घण्टा अगाडि

एथेन्स, ७ भदौ : ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबिच घामबाट बच्ने टोपीको माग बढेको छ । एक्रोपोलिसतर्फ जाने उकालो बाटो तथा आसपासका पसल र किओस्कमा परालका टोपी, पानामा ह्याट, बेसबल क्याप र बकेट ह्याटका स्ट्यान्ड देखिन थालेका छन् । दिउँसोको चर्को घामबाट जोगिन पर्यटकले टोपीलाई आवश्यक सामग्रीका रूपमा प्रयोग गर्न थालेका छन् ।

सन् २०२५ मा एक्रोपोलिसमा करिब ४६ लाख पर्यटक पुगेका थिए । धेरै पर्यटकले छायाँको अभावमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा घण्टौँ बिताउने गरेका छन् । अस्ट्रेलियाली पर्यटक ज्याक योसिफले घामबाट बच्न टोपी आवश्यक भएको बताउनुभयो । “मेरो अनुहार घामले रातो भइसकेको छ । अहिले टोपी लगाउनु सामान्य भएको छ र मानिसहरु पनि यसप्रति बढी सचेत भएका छन्”, उहाँले भन्नुभयो ।

गत वर्ष ग्रीसमा करिब तीन करोड ८० लाख पर्यटक पुगेका थिए । अत्यधिक गर्मीका बाबजुद पर्यटकको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले घामबाट बच्ने उपाय अपनाउन आग्रह गरेका छन् । एक्रोपोलिसमा रेडक्रसका स्वयंसेवकले पर्यटकलाई सनस्क्रिन, पानी, जानकारीमूलक पर्चा तथा टोपी वितरण गर्दै आएका छन् ।

स्वास्थ्यकर्मीले पराबैजनी किरणको असर तथा ‘हिट स्ट्रोक’बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । सिन्टाग्मा स्क्वायरका किओस्क सञ्चालक कोन्स्टान्टिनोस मालिओसले पछिल्ला वर्षमा टोपीको बिक्री बढेको बताउनुभयो । उहाँका अनुसार टोपीको मूल्य छ युरोदेखि २० युरोसम्म पर्छ ।

यसैबिच, टोपी निर्माता लिसा सारिगियानिडोउले परम्परागत शैलीका परालका टोपी उत्पादन गर्दै आउनुभएको छ । उहाँका टोपीको मूल्य करिब ५० युरोबाट सुरु हुने र विशेष डिजाइनका टोपीको मूल्य १०० युरोभन्दा बढी पर्ने उहाँले बताउनुभयो ।“टोपीप्रतिको मानिसहरूको दृष्टिकोणमा परिवर्तन आएको छ”, उहाँले भन्नुभयो । (रासस/एपी)

तपाईको प्रतिक्रिया