जनकपुरको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

  चैत २२, २०७६

जनकपुरधाम, चैत २२ : जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस भेटघाटमा सो जानकारी गराउनुभएको हो ।

प्रदेश नं–२ मा हालसम्ममा ७९ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आजसम्ममा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४१ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । यस प्रदेशको आठवटै जिल्ला गरी १३६ वटा क्वारेन्टाइनमा दुई हजार ७३५ वटा श्यया रहेको छ । सोमध्ये ९६८ जना क्वारेन्टाइनमा, ८७ वटा आइसोलेसन शय्यामा २२ जना रहेको छ भने एक हजार छ जना होम क्वारेन्टाइनमा बसेको सचिव घिमिरेले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सप्तरीको ३० वटा क्वारेन्टाइनमा २९९ जना, होम क्वारेन्टाइनमा ४८ जना र एक जना आइसोलेसनमा छन् भने सिरहाको १९ वटा क्वारेन्टाइनमा १२७ जना र ७७ जना होम क्वारेन्टाइनमा छन् । धनुषाको १६ वटा क्वारेन्टाइनमा ८२ जना, होम क्वारेन्टाइनमा ४० जना र सात जना आइसोलेसनमा रहेको छ भने महोत्तरीको १६ वटा क्वारेन्टाइनमा ४४ जना र ७७५ जना होम क्वारेन्टाइन छन् भने सर्लाहीको १६ वटा क्वारेन्टाइनमा ५३ जना, ३२ जना होम क्वारेन्टाइनमा छन् र रौतहटको १६ वटा क्वारेन्टाइनमा २१५ जना र चार जना होम क्वारेन्टाइनमा बसेका छन् ।

पर्साको नौ वटा क्वारेन्टाइनमा ९८ जना क्वारेन्टाइनमा, पाँच जना होम क्वारेन्टाइनमा र पाँच जना आइसोलेशनमा छन भने बाराको १४ वटा क्वारेन्टाइनमा ५० जना, २५ जना होम क्वारेन्टाइनमा र नौ जना आइसोलेसनमा छन् । उहाँहरु नौ जना भारतमा सम्पन्न धार्मिक कार्यक्रमबाट फर्केका व्यक्ति रहनुभएको सचिव घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया