ज्वरो आएर भरतपुर अस्पताल भर्ना भएकी युवतीको मृत्यु

  चैत २१, २०७६

चितवन, चैत २१ : चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे निधन भएको हो ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो । उनको ट्राभल हिस्ट्रीबारे भने अस्पतालले केही खुलाएको छैन ।

युवतीको स्वाब परीक्षण गरिने
आज बिहान मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ ।

अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको हो । अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताउनुभयो ।

युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो । अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको उहाँले जानकारी दिनुभयो । यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको हो ।

तपाईको प्रतिक्रिया