सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु हुँदै

  चैत २१, २०७६

काठमाडौंँ, चैत २१ : कोरोना भाइरसको परीक्षण सातै प्रदेशबाट सुरु हुने भएको छ । कतिपय प्रदेशमा सुरु भइसकेको छ भने कतिपय प्रदेशमा तत्कालै सुरु हुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अब सरकारले सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु गर्न लागेको छ, कतिपय प्रदेशमा सुरु भयो भने कतिपय प्रदेशमा भोलि–पर्सि नै सुरु हुनेछ भन्नुभयो ।

उहाँले हाल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र हेटौँडामा परीक्षण सुरु भइसकेको जानकारी दिनुभयो । कर्णाली प्रदेशमा पनि सुरु भएको जानकारी आइसकेको छ ।
प्रवक्ता देवकोटाले बाँकी प्रदेशमा पनि तत्काल परीक्षण सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

धरानमा हाल दैनिक १२ जनाको स्वाब परीक्षण सुरु गरिएको छ । प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले दैनिक १२ जनाको कोरोना परीक्षण भइरहेको जानकारी दिनुभयो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

छैटौँ व्यक्तिमा सङ्क्रमण
नेपालमा थप एक जनामा कोरोना भाइरस सङ्क्रमण भएको बिहीबार पुष्टि भएको छ । विदेशबाटै आएकी ६४ वर्षीया एक महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण देखिनेको सङ्ख्या छ पुगेको छ ।

प्रवक्ता डा. विकास देवकोटाले चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आउनुभएकी एक महिलालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । छैटौँ सङ्क्रमित र यसअघि भेटिएका पाँचौ सङ्क्रमित र दोस्रो सङ्क्रमित कतारबाट एउटै विमानमा आएका थिए ।

छैटौँ र पाँचाँै सङ्क्रमित बेल्जियमबाट कतार हुँदै नेपाल आएका थिए । डा. देवकोटाले नेपालमा बिहीबार बेलुकी सम्ममा एक हजार १८४ व्यक्तिमा कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो । ती मध्ये पाँच जनामा कोरोना पुष्टि भइसकेको छ ।

पहिलो पटक कोरोना देखिएका चीनबाट आएका एक विद्यार्थीको नमुना भने नेपालमा कोरोना परीक्षण नभएकाले हङ्कङमा पठाइएको थियो । डा. देवकोटाले ४३ जनाको परीक्षण विभिन्न प्रयोगशालामा भइरहेको बताउनुभयो । देवकोटाले चार जना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि सकिएको बताउनुभयो । प्रवक्ता देवकोटाले यसअघि सङ्क्रमित देखिएका सबैको स्वास्थ्य सामान्य रहेको जानकारी दिनुभयो ।

सङ्क्रमित सबै विदेशबाटै आएका
नेपालमा कोरोना भाइरस देखिएका छ व्यक्ति नै विदेशबाट नेपाल आएका छन् । हालसम्म नेपालमै रहेका कुनै पनि व्यक्तिलाई कोरोना सङ्क्रमण भेटिएको छैन । नेपालमा पहिलो कोरोना सङ्क्रमण माघ १० गते पुष्टि भएको थियो । ती सङ्क्रमित चीनबाट नेपाल आएका थिए ।

यस्तै दोस्रो सङ्क्रमित भने चैत ४ गते फ्रान्सबाट नेपाल आएकामा भएको थियो । ती १९ वर्षीया युवतीमा दोस्रो कोरोना भाइरस पुष्टि भएको थियो । उहाँ फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आउनुभएको थियो । यस्तै यूएईबाट चैत ६ गते काठमाडौंँ आएका ३२ वर्षीय युवामा कोरोना भेटिएको थियो । उहाँ तेस्रो सङ्क्रमित हुनुहुन्थ्यो ।

हाल दुई जनाको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । बाहिरबाट आएकै चौथो सङ्क्रमित व्यक्तिको धनगढीमा उपचार भइरहेको छ भने पाँचौ सङ्क्रमित बाग्लुङकी युवतीको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पाँचौ सङ्क्रमित पनि बाग्लुङकै हुनुहुन्छ । उहाँ बेल्जियमबाट कतार हुँदै नेपाल आउनुभएको थियो । पछिल्लो सङ्क्रमित महिलासँंगै कतार एयरबाट ४ गते नेपाल आउने तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया