‘बिरामी फर्काउने अस्पतालमाथि कडाई गर्न नपरोस्’

  चैत १६, २०७६

काठमाडौँ, चैत १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरोका बिरामी फर्काउने अस्पतालका लागि कडा कदम चाल्ने बताएको छ । मन्त्रालयको हटलाइन नम्बरमा अस्पतालले उपचार नगरेको उजुरी आउन थालेपछि यस्तो निर्णय लिइएको प्रवक्ता डा.विकास देवकोटाले बताए । 

‘कोभिड १९ का लागि सरकारले तोकेका हब अस्पतालले बिरामी लिन्न भन्न पाउँदैनन्,’ उनले भने, ‘अनिवार्य रुपमा ज्वरो क्लिनिक राखेर कोभिड लक्षण लिएर आएका बिरामी अस्पतालको आइसोलेसनमा राखेर थ्रोट स्वाब परीक्षणका लागि टेकुको प्रयोगशाला पठाउनुपर्छ।’ आकस्मिक कक्षमा आएका बिरामी र ज्वरोका बिरामी हेर्नुपर्ने ती अस्पतालको दायित्व भएको उनले जनाए ।

हब अस्पताल बाहेक अन्य अस्पतालमा पनि ज्वरोका बिरामी आइहाले नफर्काउन उनले अनुरोध गरे। ज्वरोका बिरामी मन्त्रालयको प्रोटोकलअनुसार उपचार गर्नुपर्ने उनले बताएको इकान्तिपुर अनलाइनमा उल्लेख छ । ‘संकटको घडीमा निजी, सरकारी या सामुदायिक नभनी उपचार सेवा दिनुपर्छ,’ उनले भने, ‘केही समस्या परे मन्त्रालयले सघाउँछ तर बिरामी फर्काउनु भएन ।’

सरकारले कोभिड-१९ का लागि राजधानीमा ९ अस्पताल तोकेको छ। ती नर्भिक, स्टार वयोद्या, अल्का, ह्याम्स र बी एन्ड बी,न्यूरो, अल्का, सुमेरु हब अस्पताल हुन्।

तपाईको प्रतिक्रिया