चीनमा औषधीजन्य सामग्री उद्योग एक्स्पो, नेपाली जडीबुटीमा लगानीकर्तालाई स्वागत

  साउन ३०, २०८३

लक्ष्मी लम्साल
बेइजिङ, ३० साउन

चीनले पहिलोपटक आयोजना गरेको औषधीजन्य सामग्री उद्योग एक्स्पो २०२६ मार्फत् नेपालले जडीबुटी क्षेत्रमा लगानी गर्नका लागि स्वागत गरेको छ । शुक्रबार चीनको युनान प्रान्तस्थित खुनमिङ सहरमा सुरु भएको त्रिदिवसीय एक्स्पोमा सहभागी भएका नेपाली अधिकारीहरुले नेपालमा जडीबुटी क्षेत्रमा लगानीका अथाह संभावना भएकाले त्यसबाट फाइदा लिन चिनियाँ लगानीकर्तालाई आग्रह गरेका हुन् ।

एक्स्पो उद्घाटनमा सहभागिता जनाएकी बेइजिङस्थित नेपाली राजदूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपाली जडीबुटीमा चिनियाँ प्रविधिको महत्व दर्शाउँदै लगानी गर्ने सुअवसर भएको प्रस्तुती दिइन् । झण्डै हजारभन्दा बढी सरकारी अधिकारी, कूटनीतिज्ञ, अनुसन्धानकर्ता एवं जडीबुटी व्यवसायी र लगानीकर्ताको सहभागिता रहेको एक्स्पोको उद्घाटन सत्रमा नेपालले मात्रै प्रस्तुती राख्ने मौका पाएको थियो ।

चीनले दक्षिण एशियाको गेटवेको रुपमा विकास गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा भएको तीन दिने मेलामा नेपालले जडीबुटी व्यवसायी महासंघले भाग लिएको छ । इकोनोमिक मिनिस्टर अर्यालका अनुसार जडीबुटी औषधि, न्यूट्रास्युटिकल्स, आरोग्य सम्वद्द वस्तुको उत्पादन, पोषण आहार, प्राकृतिक सौन्दर्य प्रसाधन र वनस्पतिजन्य स्वास्थ्य समाधानको विश्वव्यापी माग रहेकाले नेपालमा चिनियाँ प्रविधि, नवप्रवर्तन र लगानी बढाउन आग्रह गरेकी थिइन् ।

चीनको युनान प्रान्तस्तरीय कृषि विभागका महानिर्देशक ली यान, चिनियाँ कम्युनिष्ट पार्टीका सहसचिव एवं उप गभर्नर वाङ्ग सियाङ्गआङ् सहित विभिन्न विभाग र अनुसन्धान केन्द्रका उच्च सरकारी अधिकारी सहभागी कार्यक्रममा चिनियाँ अधिकारीले चीनले जडीबुटी क्षेत्रमा गरेको प्रगति, युनान प्रदेशको सम्भावना र दक्षिण एशियाली देशहरुसँग चीनको साझेदारीको विषयमा मन्तव्य र प्रस्तुतीकरण दिएका थिए ।

नेपालको प्रस्तुतीकरणमा जनाइएअनुसार जडिबुटी नेपालको तुलनात्मक लाभ राखेको क्षेत्र हो भने चिनियाँ प्रविधि, नवप्रवर्तन तथा लगानीले रूपान्तरणकारी अवसरहरू सिर्जना गर्न सक्नेछ । विश्वव्यापी जडीबुटी औषधि बजार सन् २०२५ मा अमेरिकी डलर २५१.२४ अर्बबाट सन् २०३४ सम्ममा अमेरिकी डलर ५१५.९२ अर्बसम्म पुग्ने प्रक्षेपण गरिएको छ, जसको अनुमानित वार्षिक चक्रवृद्धि वृद्धिदर ८.३७ प्रतिशत रहेको छ । यो वृद्धिले जडीबुटी औषधीजन्य वस्तुहरू बलियो दीर्घकालीन बजार सम्भावनासहितको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रका रूपमा स्थापित हुँदै गएको देखाउँछ ।

नेपालको तराईदेखि मध्यपहाड हुँदै हिमाल क्षेत्रसम्मको भौगोलिक विविधताका कारण नेपालसँग जडीबुटी क्षेत्रमा बलियो प्राकृतिक आधार रहेको छ, जसले विभिन्न प्रकारका औषधीय तथा सुगन्धित बिरुवाहरूलाई सहयोग पुर्याएको अवस्था छ ।

तथ्याङ्क अनुसार नेपालमा ६,९७३ उच्च वनस्पति प्रजाति, करिब ७०० औषधीय बिरुवाका प्रजाति र परम्परागत रूपमा औषधिका रूपमा प्रयोग हुने करिब २५० प्रजाति रहेका छन् । यो क्षेत्रसँग करिब ३ लाख परिवारको जीविकोपार्जनसँग पनि जोडिएको छ, जसले जडीबुटी उद्योग विकासलाई आर्थिक र ग्रामीण विकास दुवैको अवसर वढाउने सम्भावना बोकेको छ ।

यसैबीच नेपालमा उच्च मूल्यका निर्यातयोग्य जडीबुटीजन्य वस्तुहरूमा यार्सागुम्बा, जटामसी, नेपाली कुटकी, सातुवा, ककोली, गनोडर्मा, गुच्छी च्याउ र औषधीय अर्किडलाई निर्यातयोग्य जडीबुटीको अग्रसूचीमा राखिएको छ । उच्च परिमाणमा व्यापारिक रूपमा प्रयोग हुने वस्तुहरूमा तेजपात, रीठा, टिमुर, चिराइतो, अमला, दालचिनी र सुगन्धवाल पर्दछन् । यी कच्चा पदार्थवाट औषधिजन्य ड्रग्स, क्याप्सुल र ट्याब्लेट, हर्बल एक्स्ट्र्याक्ट पाउडर, एसेन्सियल अइल, हर्बल चिया, कस्मेटिक्स तथा स्किनकेयर, फंक्शनल फुड र वेलनेस पेय पदार्थ उत्पादनका लागि चीनबाट प्रविधि हस्तान्तरण गर्ने उत्तम अवसर रहेको छ ।

धेरै औषधीय तथा सुगन्धित बिरुवाहरू अझै पनि कच्चा वा अर्धप्रशोधित रूपमा निर्यात हुने गरेकोले प्रयाप्त स्रोत आधार हुँदाहुँदै पनि नेपालले आफ्नो जडीबुटी स्रोतबाट सीमित मूल्यमात्र आर्जन गरिरहेको छ । नेपाल–चीनबीचको जडीबुटी व्यापारमा करिब ५४ प्रजाति रहेको बताइएको छ । यद्यपि चीनको क्वारेन्टाइन तथा भन्सार सन्दर्भ सूचीमा जम्मा १५ प्रजाति मात्र सूचीवद्ध रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया