‘नियोगमा स्थानीय कर्मचारीको नियुक्ति निर्देशिका अनुसार नै भएको छ’

  २ घण्टा अगाडि

काठमाडौँ, २ भदौ : परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको जानकारी दिनुभएको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा ३७४ जना स्थानीय कर्मचारी कार्यरत रहेको छ ।

तीमध्ये १८५ जना नेपाली नागरिक र १२६ जना विदेशी नागरिक रहेका छन् । प्रतिनिधिसभामा आज सांसद निश्कल राईले विदेशस्थित नेपाली नियोगमा कार्यरत नेपाली तथा विदेशी स्थानीय कर्मचारीको सङ्ख्या र त्यसबाट राज्यलाई परेको आर्थिक भारबारे सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले स्थानीय कर्मचारी नियुक्ति विश्वव्यापी अभ्यास अनुसार नै हुँदै आएको बताउनुभयो ।

मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगमा कूटनीतिक कर्मचारीलाई दैनिक प्रशासनिक, कन्सुलरलगायत काममा सहयोग गर्न स्थानीयस्तरमा उपलब्ध जनशक्तिलाई करारमा नियुक्त गर्ने गरिएको छ । नेपालबाट थप कर्मचारी पठाउनुभन्दा स्थानीय कर्मचारी नियुक्त गर्दा आर्थिक रूपमा मितव्ययी हुनुका साथै काममा सहजता र प्रशासनिक तथा कूटनीतिक दृष्टिले पनि व्यावहारिक हुने उहाँको भनाइ छ ।

“स्थानीय भाषा, कानुन तथा कार्य संस्कृति बुझेका कर्मचारीबाट कामकाज गर्न र गराउन सहज तथा प्रभावकारी हुने भएकाले ती पदमा स्थानीयस्तरमै पदपूर्ति गर्ने गरिएको छ”, मन्त्री खनालले भन्नुभयो । विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । नियोगको कार्य प्रकृति र कार्यबोझ अनुसार अफिस सेक्रेटरी, लिगल एडभाइजर, ड्राइभर, मेसेन्जर, ट्रान्सलेटर, गार्डनर, सुरक्षा गार्ड तथा अफिस असिस्टेन्टलगायतका पदमा स्थानीय कर्मचारी नियुक्त हुने गरेका छन् ।

मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारीका लागि ३७४ दरबन्दी स्वीकृत रहेकोमा हाल १२६ पदमा विदेशी नागरिक र १८५ पदमा नेपाली नागरिक कार्यरत छन् । केही पद राजदूत नियुक्त भएपछि पूर्ति हुने र राजदूत फिर्ता भएसँगै रिक्त हुने भएकाले सबै दरबन्दीमा एकै पटक कर्मचारी कार्यरत नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

स्थानीय कर्मचारीको तलबमा आर्थिक वर्ष २०८२/८३ मा ९१ करोड १७ लाख ३८ हजार खर्च भएको पनि मन्त्री खनालले जानकारी दिनुभयो । उहाँले नेपाली नियोगमा स्थानीय कर्मचारीको सङ्ख्या नेपाल जस्तै ठूलो डायस्पोरा भएका अन्य मुलुकको तुलनामा निकै कम रहेको दाबी गर्नुभयो । ‘यो सङ्ख्या नेपाल जस्तै डायस्पोरा ठूलो भएका देशको तुलनामा साह्रै न्यून हो”, उहाँले भन्नुभयो ।

मन्त्री खनालका अनुसार करिब सात लाख नेपाली डायस्पोरा रहेको संयुक्त अरब इमिरेट्स (यूएई) मा अबुधाबी र दुबईस्थित नेपाली नियोगमा जम्मा १० जना स्थानीय कर्मचारी कार्यरत छन् । यसको तुलनामा फिलिपिन्सका नियोगमा ७५ जना स्थानीय कर्मचारी रहेको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो । करिब तीन लाख ५० हजार नेपाली डायस्पोरा रहेको श्रीलङ्काको नियोगमा ४० भन्दा बढी स्थानीय कर्मचारी रहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय कर्मचारी नियुक्त गर्दा नेपालको कानुनसँगै सम्बन्धित आतिथेय राष्ट्रको स्थानीय कानुन तथा सन् १९६१ को कूटनीतिक सम्बन्ध सम्बन्धी भियना महासन्धि र सन् १९६३ को वाणिज्यदूत सम्बन्धी भियना महासन्धिका केही प्रावधानसमेत आकर्षित हुने मन्त्री खनालले प्रतिनिधिसभालाई जानकारी गराउनुभयो । सरकारले विदेशमा रहेका ठूलो सङ्ख्याका नेपालीको सुरक्षा, हित र कन्सुलर सेवा प्रभावकारी बनाउन स्थानीय कर्मचारीको व्यवस्थापनलाई आवश्यकता अनुसार अघि बढाउँदै आएको जनाएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया