कतार एयरका दुईवटा विमानबाट ६०८ पर्यटकको उद्धार

  चैत १५, २०७६

काठमाडौं, चैत १५ : कतार एयरका दुईवटा विमान नेपालमा अलपत्र परेका ६०८ पर्यटक लिएर काठमाडौंबाट उडेका छन् । बिहान ११ : ४७ बजे र मध्यान्ह १२ : ४५ बजे कतार एयरवेजका दुईवटा विमानले ती पर्यटक लिएर त्रिभुवन विमानस्थलबाट उडेका हुन् ।

आज ती दुई विमानमा ३०५ जर्मन पर्यटक र अरु अन्य युरोपेली मुलुकका पर्यटक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता रामकुमार क्षेत्रीले बताउनुभयो । युरोपेली मुलुक स्वीडेन, फ्रान्स र जर्मनीका ६ सयभन्दा बढी नागरिक शनिबार नेपालबाट स्वदेश फर्किएका छन् । ती मुलुकले कतार एयरवेजको वाइडबडी जहाज चार्टर गरेर आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् । धेरैजसो युरोपियन नागरिक नेपालमा पदयात्राका लागि आएका थिए ।

कतार एयरवेजको उडान नम्बर ७७८२ बाट ३०३ पर्यटक फर्किएका छन् भने ३४६८ बाट ३०५ जना युरोप फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । नेपालस्थित जर्मन तथा विभिन्न युरोपेली देशका दूतावासहरुको समन्वयमा अलपत्र पर्यटकलाई विमान चार्टर गरेर फर्काइएको हो । शुक्रबार पनि कतार एयरवेजबाट ३०७ पर्यटकलाई उद्दार गरेर युरोप लगिएको थियो ।

तपाईको प्रतिक्रिया