पोखरामा रहेका पर्यटकलाई काठमाडौंँ लैजाँदै

  चैत १५, २०७६

पोखरा, चैत १५ : कोभिड–१९ रोकथामका लागि सरकारले अवलम्बन गरेको लक डाउनले पोखरामा अलपत्र परेका पर्यटक एवम् पर्यटनसँग आबद्ध मजदूरलाई आज श्री एयरलाइन्स र पर्यटक बसबाट काठमाडौँ लैजाने व्यवस्था गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आज श्री एयरलाइन्स र पर्यटकबसबाट काठमाडौँ लैजाने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले शुक्रबार ५८ जना विदेशी पर्यटक चार्टर जहाजबाट काठमाडौँ गएको र त्यसअघि फ्रान्सेली दूतावासले ५९ जना आफ्ना नागरिकलाई बुद्ध एयर चार्टर गरेर काठमाडाँै लगेको बताउनुभयो ।

आज श्री एयरलाइन्सले करीब एक सय ५० जना जतिलाई काठमाडौँ लाने व्यवस्था भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “श्रीका दुईवटा जहाजमा आज पर्यटकलाई काठमाडौँ लगिँदैछ, त्यसैगरी जहाजमा व्यवस्थापन हुन नसकेका, विभिन्न स्थानमा पदयात्रामा रहेर समयमै सम्पर्कमा आउन नसकेका र अन्य पर्यटकहरुलाई पर्यटक बसबाट लैजाने व्यवस्था गरिएको छ ।” कार्कीले पोखरामा करीब दुई सय जति पर्यटक भएको बताउनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन पश्चिमाञ्चलका (टान) अध्यक्ष हरि भुजेलले पर्यटक र पर्यटन सम्बद्ध मजदूरलाई लेक साइडको बाराहीचोकमा बिहान ११ बजे जम्मा हुन विभिन्न सामाजिक सञ्जाल र सम्बन्धित क्षेत्रबाट आह्वान गरिएको बताउनुभयो । भुजेलले भन्नुभयो, “अहिले १०÷१५ जना सम्पर्कमा आउनु भएको छ । हामीलाई प्राप्त जानकारीअनुसार आज बसबाट काठमाडौँ जाने करीब ६०÷७० जना पर्यटक गाइड र पोर्टर हुनुहुन्छ ।”

तपाईको प्रतिक्रिया