छुट्टै फिवर क्लिनिक सञ्‍चालनका लागि सरकारले प्रतिअस्पताल १० लाख दिने

  चैत १३, २०७६

काठमाडौं, चैत १३ : सरकारले मुलुकभरका लागि हब अस्पतालका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रतिअस्पताल १० लाख रुपैया उपलब्ध गराएको छ ।

सामान्य, ज्वरो, रुघाखोकीजस्ता लक्षण देखिएर कोरोनाका शंकामा जाँचका लागि आएका विरामीलाई राख्नका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दे सरकारले त्यसका लागि प्रति अस्पताल १० लाख रुपैयाँ दिएको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव यादव कोइरालाले हब अस्पताललाई छुट्टै फिवर क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था गर्दै ती अस्पताललाई १० लाख उपलब्ध गराइएको जानकारी दिए ।

साथै त्यस्ता विरामीको जाँचका लागि सरकारले आफ्नै ढंगको पीपीईको मापदण्ड बनाएको र सोही मापदण्ड अपनाउन भनिएको पनि उनले स्पष्ट पारे । उनले भने,’साधारण रुघाखोकी लागेको बिरामीको जाँच गर्नका लागि भनेर पिपीई गाइडलाईन बनाएका छौं र पीपीई गाइडलाईन अनुसार उपचारमा संलग्‍न हुन भनिएको छ ।’

त्यसैगरी सरकारले सबै पालिकालाई विदेशबाट आएका व्यक्तिलाई आफ्नो क्षेत्रमा क्वारेन्टाइनमा राख्‍न निर्देशन दिएको छ । साथै क्‍वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा तत्काल आईसोलेसनमा राख्‍ने तथा आईसोलेसनमा राखिएकाहरुको स्वास्थ्य गम्भीर बन्न थाल्यो भने स्वाव परीक्षण गर्न पठाउन निर्देशन गरेको इकान्तिपुरले जनाएको छ ।

सचिव यादवले क्वारेन्टाईन र आइसोलेसनमा राख्ने तथा त्यसको सम्पुर्ण रिपोर्ट केन्द्र सरकारलाई गराउने सम्बन्धमा स्पष्ट निर्देशिका बनाएर प्रदेश र स्थानीय सरकारलाई पठाइएको बताए । स्थानीय जनप्रतिनिधिलाई दैनिक क्वारेन्टाइनको अनुगमन गरि संक्रमितको, विदेशबाट आएका र आइसोलेसनमा रहेकाको अवस्थाको जानकारी दैनिक रुपमा गृहमन्त्रालयमा भनिएको उनले स्पष्ट पारे ।

उनले भने,’यदि त्यस्तो किसिमको सिमटम देखिदा स्वासप्रश्वासमा असजिलो भएको छ र सिमटमबाट माथिल्लो स्टेजमा पुगेको छ भने तुरुन्तै स्वाब परीक्षणका लागि केन्द्र वा नजिकको परीक्षण केन्द्रमा पठाउन अनुरोध गरेका छौ । ‘

विदेशबाट आउँदैमा डराइहाल्नुपर्ने अवस्था नभएको भन्दै उनले सेल्फ क्वारेन्टाइनमा बस्न र कोरोना भाइरसको संक्रमण देखिए तत्काल तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आग्रह गरे ।उनले अहिले सम्म शंका लागेका ७ सय भन्दा बढी नमुनाको परीक्षण गरिएको र ती मध्ये ३ जनामा मात्रै देखिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया