राष्ट्रपतिद्वारा दुई महिनाको पारिश्रमिक प्रदान

  चैत ११, २०७६

काठमाडौँ, चैत ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार विज्ञप्ति जारी गरी सो जानकारी दिनुभएको हो ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणकै लागि सरकारद्वारा स्थापना गरिएको केन्द्रीय कोषमा राष्ट्रपति कार्यालयमा कार्यरत विज्ञसहित स्वकीय सचिवालयका सबै सदस्यले एक महिनाको तलब उपलब्ध गराउने भएका छन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा स्थापना गरिएको केन्द्रीय कोषमा राष्ट्रपति कार्यालयका विज्ञसहित सचिवालयका सबै सदस्यको एक महिनाको तलब उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका केही सदस्यले एक महिना र केहीले आधा महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशङ्कर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, स्वकीय सचिव राजेश वज्राचार्यले एक महिनाको तलब उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी विकास पूर्वाधारविज्ञ गजेन्द्र थपलिया, सञ्चारविज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको तलब उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय विकास परिषद्ले कोषमा एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको परिषद्का सदस्यसचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया