काेराेनाको त्रासले राेकिएन तामाकोसी निर्माण, चार सय कामदार डट्दै

  चैत ११, २०७६

चरिकोट, दोलखा, चैत ११ : दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कोरोना भाइरसको प्रकोपले खासै प्रभाव परेको छैन ।

बाँधलगायत हेडवर्कसको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोसी आयोजनाको काममा अहिलेसम्म कोरोना भाईरसको प्रकोपले खासै प्रभाव नपारेको र भाइरसबाट बच्ने उच्च सतर्कता र सावधानी अपनाएर काम भइरहेको आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले आयोजनामा मुख्य कामदार तथा प्राविधिकहरु चिनियाँ, इटालियन, भारतीय र नेपाली नागरिकहरु रहेको र उनीहरु कोरोनाको समस्या हुनु अघिदेखिनै निरन्तर आयोजनाको काममानै रहेकाले समस्या नभएको बताउनुभयो ।

हाल आयोजनमा करिब चारसय जना कामदार तथा कर्मचारीहरुले काम गरिरहेका छन् । चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिल, अष्ट्रियन कम्पनी एन्ड्रिजले इलेक्ट्रो मेकानिकल, भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले हाइड्रोमेकानिकल र अर्का भारतीय कम्पनी केईसीले सब–स्टेशन तथा प्रसारण लाईनको काम गर्दै आएका छन् ।

केईसिबाहेक अन्य तीनवटै कम्पनीले कामदारलाई आयोजनामा काम लगाइरहेका छन् । यद्यपि आयोजनाले काम गर्न कुनै बलजफ्ती नगरेको र केही समस्या आए ठेकेदारले जुनसुकै समयमा काम रोक्न सक्ने प्रवक्ता न्यौपाने बताउनुहुन्छ । बाहिरबाट आएका कामदारहरूलाई १४ दिनको आइसोलेसनमा राख्ने व्यवस्था समेत आयोजनाले गरेको छ ।

आयोजनामा ठेकेदार कम्पनीको काममा अहिलेसम्म समस्या नभए पनि कन्सल्टेन्टको काममा भने केही समस्या देखिएको छ । कोरोना भाईरसको प्रकोप पछि आयोजनाको कन्सल्टेन्ट कम्पनिमा काम गर्ने विज्ञ, प्राविधिकहरुले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले जनाएको छ ।

नेपालमा कोरोनाको समस्या नरहेको र आयोजनामा काम गर्ने कामदार, प्राविधिकहरु कोरोना प्रकोप अघिदेखिनै काममा रहेकोले समस्या नभएको तर आईतबारदेखि भने आयोजनाको भ्रमणमा बाहिरको मानिसलाई आउन नदिई थप सतर्कता अपनाएको प्रवक्ता डा.न्यौपाने बताउनुहुन्छ ।
स्वदेशी लगानीमा निर्माण भएको आयोजनामा अहिले बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलग लगायत अन्य हेडवर्कसका संरचनाहरुको प्राविधिक परीक्षण भैरहेको छ ।

समग्रमा ९९ दशमलब ४ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको मुख्य सुरुङमा कङक्रिट लाइनिङङको काम करिब सम्पन्न भएको र हाल यसै सुरुङको आवश्यक ठाउँहरुमा केमिकल ग्राउटिङको काम भैरहेको छ ।

त्यसैगरी, आयोजनकै निकै महत्वपूर्ण र जटिल मानिएको ३१० मिटरको माथिल्लो भर्टिकल पेनस्टक पाइप र ३७३ मिटरको तल्लो भर्टिकल पेनस्टक पाईपको काम समेत तीब्र गतिमा भइरहेको छ । सबैभन्दा कठिन मानिएको यी सुरुङहरुमा पेनस्टक पाइप राख्ने कामले गति लिन नसक्दा तामाकोसी आयोजनाको उत्पादन मिति समेत पटकपटक पछि धकेलिएको छ ।

करिब पाँच महिनाको प्रयासपछि गत असार १ गते तल्लो र असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पहिलो पेनस्टक पाइप जडान गर्न सफल भएकोमा चैतको पहिलो सातासम्ममा माथिल्लो भर्टिकल साफ्टमा १५६ मिटर र तल्लोमा २६० मिटर पाइप जडान सकिएको आयोजनाका प्रवक्ता डा.न्यौपानेले जानकारी दिनुभयो ।

हालसम्म भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले माथिल्लो भर्टिकल साफ्टमा ५० दशमलब ३२ प्रतिशत पेनस्टक जडान सम्पन्न गरेको छ भने अष्ट्रियन कम्पनी एन्ड्रिजले तल्लो भर्टिकल साफ्टमा ७० प्रतिशत पेनस्टक जडान गरेको छ । पाँच मिटर लम्बाइ र २७ टन तौल सम्मका पेनस्टक पाइपलाई ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गर्दै आएको छ ।

पिकिङ रन अफ रिभरको ढाचामा निर्माण हुने यस आयोजनाको विद्युतगृह, प्रसारण लाइन, लगाएतका काम सम्पन्न भइसकेको उल्लेख गर्दै उहाँले जेठको अन्तिमसम्म सबै पाइपहरुको जडान कार्य सकि पाइपहरुमा प्रेसर टेष्ट सुरु गर्ने र त्यसपछि सुरुङमा पानी पठाएरु परिक्षण गर्दै साउनसम्म पहिलो युनिट विद्युत उत्पादन गर्ने बताउनुभयो ।

२०६७ भाद्र १७ गते बाट मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यस आयोजना ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी र अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिदा हुने व्याज, प्रशासनिक खर्च लगायतका कारण व्याजसहित ४९ अरबको अनुमानित लागत रहेको आयोजनाको लागत बढेर ब्याजसहित ७२ अरब पुग्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया