भलवारी डिपोमा इन्धनको पर्याप्त मौजदात : निगम

  चैत ०८, २०७६

भैरहवा, चैत ८ : कोरोना भाइरसका कारण नेपाल–भारत सीमा नाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल निगम भलवारी डिपोले इन्धनको अनावश्यक स्टक नगर्न आग्रह गरेको छ ।

अहिले सम्म भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको र बजारमा पेट्रोलियम पदार्थको कुनै खालको अभाव नरहेको भन्दै निगमले हल्लाका पछाडि लागेर भण्डारण नगर्न आग्रह गरेको हो ।

निरन्तर रुपमा पहिलेकै अवस्थामा इन्धन आयात भइरहेको निगमका भलवारी डिपोका प्रमुख ई. सुरज शाहले जानकारी दिनुभयो । नाकाबन्दीका बेला सबै नाका बन्द हँुदा खुल्ला रहेको भैरहवा नाका (बेलहिया) बाट मात्रै आयात भएको इन्धन मुलुकभरीका लागि आपूर्ति व्यवस्था मिलाइएको गोरखापत्र अनलाइनमा उल्लेख गरिएको छ ।

अहिले पनि यो नाकाबाट आयात हुने पेट्रोलियम पदार्थमा कुनै कमी नआएको शाहले जानकारी दिनुभयो । “विगतमा जुन परिमाणमा इन्धन आइरहेको थियो, त्यही परिमाणमा अहिले पनि आइरहेको छ”–उहाँले भन्नुभयो–“ट्यांकरमा इन्धन लोड भइरहेको छ, हाल सम्म भारतबाट इन्धन ढुवानीका लागि केही समस्या आएको छैन ।”

डिपो प्रमुख शाहका अनुसार भारतबाट शुक्रबार दुई लाख ४० लिटर डिजेल र सात लाख ५२ हजार लिटर पेट्रोल र ३२ वटा एलपीजी ग्याँस बुलेट आएको छ । भलवारी डिपो प्रमुख शाहका अनुसार भारतको बैतालपुर, मुगलसराय, केही मात्रामा गोयन्ड र अमलेखगंजको पाइपलाइनबाट समेत डिजेल, पेट्रोल आयात भइरहेको छ । भारतबाट औसतमा डिजेल दैनिक ४० ट्यांकर र पेट्रोल १५ ट्यांकर आयात भइरहेको छ ।

काठमाडांैमा पनि पेट्रोलियम पदार्थको अभाव हुन नदिनका लागि दैनिक जसो ८० हजार लिटर पेट्रोल काठमाडौ पठाउने गरेको शाहले बताउनुभयो । निगमको भलवारी डिपोमा एक लाख १३ हजार लिटर पेट्रोल र २६ लाख लिटर डिजेल मौजदात रहेको प्रमुख शाहले बताउनुभयो ।
डिपो बाहिर पनि १४ सय ८० केएल डिजेल र चार सय ८० केएल पेट्रोल मौजदात रहेको निगमले जनाएको छ ।

डिपोको क्षमता डिजेलमा ३० लाख लिटर र पेट्रोलमा एक लाख ४० हजार लिटर रहेको छ । “भारतबाट ट्यांकरमा आइरहेको इन्धन ट्यांकरबाटै बिक्री गरिरहेका छौँ”–उहाँले भन्नुभयो । मौजदात गरिएको इन्धनबाट बिक्री गर्नु नपरेको पनि शाहले बताउनुभयो । “अहिले पनि निर्वाध रुपमा पेट्रोलियम पदार्थको लोड भइरहेको छ”–उहाँले भन्नुभयो ।

कोरोनाको त्रासले सर्वसाधरणको माग बढ्दा व्यवसायीहरुले बढी मात्रामा माग गरेको उहाँले बताउनुभयो । उहाँले इन्धनको विषयमा अफवाहको पछाडि नलाग्न र आवश्यकता भन्दा बढी इन्धन भण्डारण नगर्न सर्वसाधरण सबैलाई आग्रह गर्नुभयो । “पेट्रोल, डिजेल दजस्तो अत्यावश्यक वस्तु सर्वसाधारणले आवश्यकता भन्दा बढी भण्डारण गर्दा अनावश्यक रुपमा अभाव देखिन सक्छ”–उहाँले भन्नुभयो ।

भारतबाट एलपिजी ग्याँसका बुलेट पनि निरन्तर रुपमा आइरहेकाले ग्यासको पनि अभाव नहुने भलवारी डिपोले जनाएको छ । भैरहवा नाकाबाट आयात हुने डिजेल, पेट्रोल भलवारी डिपोले रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बाग्लुङ, स्याङजाका (केही भाग), पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा पठाउने गर्छ । यी बाहेक अति आवश्यक परेको खण्डमा काठमाडौँ, पोखरा लगायत अन्य जिल्लामा पनि पठाउने गरिएको छ ।

छ महिनाको व्याज मिनाह गर्न माग

वर्तमान अवस्थामा कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको अवस्था सिर्जना गरेको र त्यसको मुख्य प्रभाव आर्थिक क्षेत्रमा परेकोले बैंकको व्याज बढीमा छ महिनासम्म शुन्य प्रतिशत गर्नुपर्ने उद्योग व्यापार संगठन रुपन्देहीले माग गरेको छ ।

नेपालमा महामारीको रुपमा आउन नदिन सरकारबाट अझ बढी सचेतना वृद्धि गर्दै विभिन्न राहतका कार्यक्रमहरु घोषणा गर्नुपर्ने संगठनको माग छ ।

संगठनले यही चैत मसान्त र आगामी असार मसान्तमा तिनुपर्ने व्याज र किस्तालाई २०७७ साल असोजसम्मको समय सिमा थप गर्नुपर्ने लगायतको माग राख्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनले कोरोना भाइरसको महामारी फैलिन नदिन सम्पूर्ण नाकाहरु बन्द गरी आवतजावत पूर्णरुपमा रोक्नुपर्ने तथा आउनैपर्ने व्यक्तिहरुको पूर्णरुपमा चेकचाँच गरी १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने, उद्योग व्यवसायमा देखिएको मन्दीलाई राहत प्रदान गर्नको लागी महामारी अवधीको बढीमा छ महिनाको व्याज शुन्य प्रतिशत गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै घरबहाल भाडा दरमा ५० प्रतिशतका दरले छुट दिलाउने निर्देशन घरधनीलाई दिनुपर्ने, आर्थिक वर्ष ०७६÷०७७ को आयकरमा नेपाल सरकारद्वारा ५० प्रतिशत छुट प्रदान गर्नुपर्ने र निजी क्षेत्रका उद्योग, गोदाम, होटल आवश्यक परेको खण्डमा क्वारेन्टाइन बनाउनका लागि योजना बढाउनुपर्ने संगठनको माग छ ।

त्यसैगरी निजी क्षेत्रका उद्योग, गोदाम, होटल आवश्यक परेको खण्डमा क्वारेन्टाइन बनाउनका लागि निजी क्षेत्र त्यसको लागि तयार रहेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो ।

त्यस्तै बजारमा देखिएको मेडिकलजन्य माक्स, औषधी, खाद्यान्न सामग्रीहरु अभाव हुन नदिन आयातमा व्यवस्थापन मिलाउँदै यस्तो संवेदनशील स्थितिमा कालोबजारी गर्ने व्यवसायीहरुलाई कारवाही गर्नुपर्ने तथा जनतालाई सचेतना फैलाउनुपर्ने संगठनले माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबारे सरकार सचेत भएको बताउनुभयो । उहाँले संगठनको उठाएका मागहरु सम्बन्धित निकायमा पठाउने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन संगठनका अध्यक्ष भण्डारीसहित वरिष्ठ उपाध्यक्ष ग्रिसचन्द्र त्रिपाठी, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव अनिल कुमार ज्ञवाली, सचिवालय सदस्य कृष्ण बहादुर गुरुङ प्रशासन कार्यालय पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया