राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिँदै

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी असार महिनाबाट २७ मेगावाट बिजुली थपिने भएको छ ।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माणाधीन दोर्दी जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो ।

आगामी असारभित्र आयोजनाको सबै काम सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल, पावर हाउस, पाइप लाइन बिच्छ्याउने, सुरुङ मार्गलगायत आयोजनाका झन्डै ९२ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाका साइट इन्चार्ज दीपक ज्ञवालीका अनुसार पावर हाउसको सिभिल काम सबै सकिएको र इलेक्ट्रोमेकानिकलतर्फ ५० प्रतिशत काम बाँकी रहेको, बाँधस्थलको सबै काम सकिएको, टनेलको ८० प्रतिशत काम सकिएको र तीन हजार दुई सयमध्ये २०० मिटरमात्र पाइप बिच्छ्याउन बाँकी रहेको छ । यस आयोजनाले २०७२ साल फागुनबाट निर्माण कार्य थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

तर काम थालनी भएपछि भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामग्रीमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेकाले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । पछि समय थपेर यही चैत मसान्तसम्मका लागि सम्झौता भए पनि यस अवधिमा पनि काम नसकिने भएपछि असारसम्म सक्नेगरी सम्झौता भएको आयोजनाले जनाएको छ ।

आयोजनाको बाँधस्थल दुई सय १२ मिटर ग्रसहेड रहेको छ । बेँसीशहर नगरपालिका–११ रामचोकबेँसीमा पावरहाउस रहेको छ । आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता २०६९ साल असार १ गते भइसकेको छ ।

सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पिपिए) भएको आयोजनाले जनाएको छ । तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माणसम्पन्न हुन करीब चार अर्ब २३ करोड लाग्ने अनुमान आयोजनाको छ ।

आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । बाँधस्थल र पावर हाउसको काम रसुवा कन्सट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छे मेटल एन्ड मेशिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो ।

आयोजनामा दुई सयजनाले रोजगारी पाएका छन् । यस आयोजनाभन्दा अघि जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, माथिल्लो ५० मेगावाट क्षमताको मस्र्याङ्दी ‘ए’ लगायतका ६ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिसकेको छ।

तपाईको प्रतिक्रिया