नेपालको मिचिएको भूमि एक इन्च पनि छाड्दैनौँ : उपप्रधानमन्त्री

  फागुन ०४, २०७६

दार्चुला, ४ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताउनुभएको छ । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्दै पछिल्लो समय कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि नेपाल सरकारले कूटनीति पहल थालेको बताउनुभयो ।

“हाम्रो भूमि न अरूलाई एक इन्च छोड्छौ, न अरूको एक इन्च जमिन माग्छौँ, हाम्रो नेपालको भूमि मिच्न कदापि दिँदैनाँै”, रक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले भन्नुभयो, “भूमि अतिक्रमण सह्य हुँदैन, सहदैनाँै ।” भारतले मिचेको क्षेत्रको व्यास गाउँपालिकाको कालापानी क्षेत्र भ्रमणमा निस्कन लागेको भन्दै उहाँले सरकारले मिचिएको भूमिको छिनोफानो गर्ने बताउनुभयो ।

केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले पहिलोपटक भारतसँग सीमाका विषयमा कूटनीति नोट लेखेको भन्दै उहाँले भन्नुभयो, “विवादित भूमि फिर्ता गराएरै छाड्छौँ ।” नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नेपालका सबै राजनीतिक दलको साझा एजेन्डा रहेको उल्लेख गर्नुभयो ।

उहाँले निर्माणाधीन तिंकर सडकलाई नेपाली सेनामार्फत सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । विसं २०६४÷६५ देखि निर्माण शुरु भएको व्यासको तिब्बत जोड्ने सो सडकलाई नेपाली सेनाले निर्माण गर्न लागेको जानकारी गराउनुभयो । सांसद गणेशसिंह ठगुन्ना लगायतका नेताहरूको निरन्तर पहलकदमीका कारण निर्माणाधीन दार्चुला तिंकर सडकलाई नेपाली सेनामार्फत निर्माण गरिन लागेको रक्षामन्त्री पोखरेलले बताउनुभयो ।

झण्डै ११ वर्षअघिबाट निर्माण शुरु भएको तिंकर सडकखण्डअन्तर्गत खलंगादेखि माथि ४० किलोमिटर क्षेत्रफल मात्रै ट्र्याक खुलेको छ । महाकाली करिडोरअन्तर्गत राखिएको सो सडकको कूल लम्बाइ ४२५ किलोमिटर छ । कञ्चनपुरको ब्रह्मदेवदेखि तिंकरसम्मको विभिन्न खण्डमा कूल १२५ किलोमिटर सडकको ट्याक खुलेको दार्चुल तिंकर सडक योजनाले जनाएको छ । दार्चुला तिंकर सडकको व्यास गाउँपालिका सुनसेराभन्दा माथिल्लो तिंकर भञ्जाङसम्मको झण्डै ८७ किलोमिटर सडकको ट्र्याक खोल्न नेपाली सेनालाई दिने तयारी थालिएको हो ।

उहाँले दार्चुलाको व्यास कालापानी क्षेत्रमा सशस्त्र प्रहरी राख्ने विषयमा समेत भूगोलको निरीक्षण गरिने बताउनुभयो । अहिले नेपाल, भारत र चीनसँग सीमा जोडिएका सबै क्षेत्रमा सुरक्षाकर्मी थप्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “दार्चुलाको तिंकरमा पनि छिट्टै सुरक्षाकर्मीको पोष्ट स्थापना हुने बताउनुभयो ।” सीमाको रक्षाको विषयमा वर्तमान सरकार स्पष्ट रहेकाले राष्ट्रको स्वाभिमान गुम्न नदिने बताउनुभयो ।

उहाँले फरक प्रसंगमा दार्चुलाको संघीय सरकारमा प्रतिनिधित्व छिट्टै हुने बताउनुभयो । “विगतदेखि दार्चुलाका जनताले जिताएर पठाएका नेतालाई हामी छिट्टै सरकारमा प्रतिनिधित्व गराउँछाँै”, उहाँले भन्नुभयो, “यो मेरो वचन हो ।” नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम खलंगा पुग्नुभएका मन्त्री पोखरेलले महोत्सवको उद्घाटनपछि जिल्लास्थित कार्यालय प्रमुखसँग छलफलमा सहभागी हुनुभएको छ ।

यस्तै उहाँले आज नै जिल्लास्थित नेपाली सेना दुर्गादल गुल्मको निरीक्षण गर्नुहुनेछ । सोमबार बिहान एक घण्टा जिल्लास्थित कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको पार्टी अध्यक्ष गणेश खत्रीले बताउनुभयो । यस्तै उहाँले बिहान व्यास गाउँपालिकाको छांगरु तिंकर तथा कालापानी क्षेत्रको निरीक्षण गर्नुहुनेछ । महोत्सवमा जिल्लाका मार्मा, मालिकार्जुन, नौगाड, दुहुँ, व्यास र महाकाली नगरपालिकाको विभिन्न कला संस्कृति प्रस्तुत गरिएको छ ।

यस्तै नेपालकै पृथक बसोबास रहेको व्यासी सौकाको संस्कृति देखाइएको थियो । जिल्लामा रहेका जडीबुडी, पर्यटन, कला संस्कृति तथा यहाँ उत्पादन भएका कृषिजन्य वस्तुको व्यापार तथा प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले बताउनुभयो । यही फागुन ४ देखि शुरु भएको महोत्सव १३ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया