गोदावरी सडक १६ मिटर चौडाइको हुने

  पुष २८, २०७६

काठमाडौं, २८ पुस : ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको हो ।

सडकको कालोपत्र अहिले गरेपछि पैदलयात्रु मार्ग, ढललगायतका पूर्वाधार आगामी दिनमा निर्माण गरिने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । २० मिटरको मापदण्ड भए पनि त्यसलाई कम गरेर पनि सडक निर्माण अघि बढाउन स्थानीयवासी, गोदावरी नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभाका संसद्बीच सहमति भएको थियो ।

सो सडकमा कालोपत्र मापदण्डानुसार नै हुने आयोजनाका इन्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । २० मिटरमा १६ मिटरमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण गर्ने गरी निर्माण अघि बढाइनेछ । सडकको चौडाइकै विषयमा विगतमा निर्माण व्यवसायी र स्थानीयवासीबीच विवाद भएको थियो । उहाँले भन्नुभयो, “जनप्रतिनिधिमार्फत समस्या समाधान भएकाले अहिले काम अघि बढाउने वातावरण बनाइएको हो ।”

स्थानीयवासीले घरसँगै जग्गाको मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन विगतका वर्षमा भौतिक प्रगति कम थियो । सडक मापदण्डभित्र पर्ने १२० घर सर्वाेच्च अदालतको निर्णयका कारण भत्काउन सकिएको थिएन । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । यो सडक निर्माणको ठेक्का आयोजनाले आशिष सी एम जेभी र लामा समानान्तर जेभी गरेर दुई ठेकेदार कम्पनीलाई दिएको छ । ठेक्का अवधि आगामी वर्ष कात्तिकमा सकिँदैछ ।

यो सडक जस्तै उपत्यकामा १० सडक निर्माणाधीन छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारण सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति कम छ । ठेक्का सम्झौताको लामो समय बितेको भन्दै अहिले आयोजनाले जनप्रतिनिधिसँगको समन्वयमा काम अघि बढाइरहेको छ । (रासस)

तपाईको प्रतिक्रिया