ए डिभिजन फुटबलमा फ्रेण्डस क्लबद्वारा थ्री स्टार पराजित

  पुष २७, २०७६

काठमाडौं, २७ पुस : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्डस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेन्ड्सको यो पहिलो जित हो । फ्रेन्ड्सको जितमा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे ।

उनले खेलको १३औँ मिनेटमा विश्व अधिकारीको फ्रिकिक बलमा गरेको एक गोल नै फ्रेन्ड्सका लागि निर्णायक गोल सावित भयो । फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमायो । थ्री स्टारले ६ खेलमा १० अङ्क जोडेको छ । थ्री स्टार लिगको चौथो स्थानमा रहेको छ ।

अघिल्ला पाँच खेलमा तीन बराबरी र दुई हार व्यहोरेको फ्रेन्ड्सले पाँच अङ्क जोडेको छ । फ्रेन्ड्स लिगको ११औँ स्थानमा उक्लिएको छ । सोही मैदानमा आजै भएको अर्को खेलमा सरस्वती युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । यसअघि खेलेको पाँच खेलमा पराजित सरस्वतीले छैटौँ खेलमा गोलरहित बराबरी खेलेको हो । सरस्वतीले एक अङ्क जोडेको छ । समान ६ खेल पूरा गरेको ब्रिगेड ब्वाइज ६ अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा रहेको छ । (रासस)

तपाईको प्रतिक्रिया