लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिर गुरुयोजना

  पुष २७, २०७६

भक्तपुर, २७ पुस : सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बृहत् अन्नदान मेला हुने भएको छ । नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष तुलसीदास कासुलाले आगामी माघ १ गते १५आँै अन्नदान मेला आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

मन्दिरको दैनिक पूजा एवं आरती व्यवस्थापनमा ठूलो टेवा पु¥याउँदै आएको अन्नदान मेलामा विगतका वर्षमा स्थानीयवासीले मात्रै सहभागिता जनाए पनि यस वर्ष भने सबै क्षेत्रका बासिन्दालाई मेलामा सहभागिता जनाउन उहाँले आह्वान गर्नुभएको छ । अन्नदान मेलामा धान, चामल, गहँु, जौँलगायतका अन्नका साथै स्वेच्छाले आर्थिक दान दिन आह्वान गरिएको हो ।

त्यसैगरी समितिले मन्दिर परिसरमा निर्माण भइरहेको र हुने भौतिक संरचना समेटिएको रु सात करोड लागतको गुरुयोजना सार्वजनिक गरेको छ । मन्दिरको पूर्वतर्फ बहुउपयोगी सामुदायिक भवन, मूल मन्दिर, कलात्मक गेट, भजनपाटीलगायतको भौतिक संचरना निर्माणको गुरुयोजना सार्वजनिक गरिएको हो ।

समितिका उपाध्यक्ष श्रीराम व्यञ्जूले मूल मन्दिर निर्माणका लागि रु दुई करोड ५९ लाख, बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि रु दुई करोड ५० लाख, कलात्मक प्रवेशद्वार निर्माणका लागि रु २८ लाख २५ हजार, भजनपाटी एवं सत्तल निर्माणका लागि रु ३९ लाख ६९ हजार, दाफा भजनघर निर्माणका लागि रु ३५ लाख ५७ हजार, ढुङ्गा छपाइका लागि ४३ लाख ५४ हजारलगायत उद्यान र अन्य संचरना निर्माणसमेतको गुरुयोजना सार्वजनिक गरेको जानकारी दिनुभयो ।

पुनःनिर्माण प्राधिकरणले रु एक करोडको लागतमा पुरातत्व विभागमार्फत पुरातात्विक शैलीमा कलात्मक मन्दिर निर्माण गरिदिने भएको छ । गुरुयोजनाअनुसार थप बजेटसहित मन्दिर निर्माण सम्पन्न पुरातत्व विभागबाटै हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै मन्दिरको पूर्वपट्टि बहुउद्देश्यीय सामुदायिक भवन निर्माणकार्य शुरु भई पाँचतलाको संरचना निर्माण गरी ढलानकार्य सम्पन्न गरी थप संरचना निर्माण भइरहेको छ । यसका लागि हालसम्म रु एक करोड ६९ लाख खर्च भइसकेको छ । प्रदेश ३ सरकार, सांसद कोष, सूर्यविनायक नगरपालिका, स्थानीय चन्दादाताबाट प्राप्त उक्त रकम र जनश्रमदानमा भवन निर्माण भइरहेको समितिका उपाध्यक्ष व्यञ्जूले जानकारी दिनुभयो ।

बहुउद्देश्यीय सामुदायिक भवन निर्माण सम्पन्न भएपछि उक्त भवनमा मन्दिरका पुजारीको आवासगृह, विवाह, व्रतबन्धलगायतका धार्मिककार्य गर्ने स्थल, धार्मिक ग्रन्थहरू समेटिएका धार्मिक पुस्तकालय, ज्येष्ठ नागरिकका लागि दिवासेवा सञ्चालनलगायतका कार्यमा प्रयोगमा ल्याइने भएको छ ।

पुरातत्व विभागले गरेको उत्खननका आधारमा परापूर्वकालमा यस क्षेत्रमा धार्मिक किल्ला नै खडा गरी भौतिक संरचनाको विकास भएको र उक्त संरचना कुनै कालखण्डमा प्राकृतिक प्रकोप तथा प्रलयबाट क्षति पुगेकाले भग्नावेशषमा परिणत भएको जनाइएको छ ।

प्रसिद्ध धार्मिकस्थल मानिने नन्दीकेश्वर महादेव मन्दिरमा वैशाख पूर्णिमाको दिन १०८ कन्यासहितको खट जात्रा, श्रावणी मेला एवं प्रत्येक सङ्क्रान्तीमा विशेष पूजा, माघ १ गते अन्नदान, जनैपूर्णिमा मेला, हरितालिका तीज मेला, नवरात्रि मेला, सकिमना पूर्णिमा मेला, शिवरात्रि मेला लाग्ने गर्दछ । (रासस)

तपाईको प्रतिक्रिया