भिक्टोरी म्याराथनमा पुरुषतर्फ सेना र महिलातर्फ सशस्त्र विजयी

  पुष २६, २०७६

रुपन्देही, २६ पुस : राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयले आज आयोजना गरेको भिक्टोरी म्याराथन तथा एकता दौड प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका हरिकुमार रिमाल र महिलातर्फ सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजु प्रथम हुनुभएको छ ।

रिमालले फुल म्याराथनतर्फ ४२ किलोमिटरको दूरी २ घण्टा ३१ मिनेट २ सेकेण्डमा पार गर्नुभएको थियो भने महिलातर्फ कोजुले २ घण्टा ५६ मिनेट ५१ सेकेण्डमा दौड पूरा गर्नुभयो ।

प्रतियोगितामा नेपाली सेनाकै राजन रोकाय द्वितीय र नेपाली सेनाकै कल्याण बानियाँ तृतीय हुनुभयो । रोकायले २ घण्टा ३२ मिनेट २८ सेकेण्डमा दौड पूरा गरे भने बानियाँले २ घण्टा ३७ मिनेट ४ सेकेण्डमा दूरी पूरा गर्नुभएको थियो । महिलातर्फ नेपाली सेनाकी सरीता वासीले ३ घण्टा १२ मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी दोस्रो स्थान हासिल गर्नुभयो भने ३ घण्टा ३२ मिनेट १६ सेकेण्डमा दौड पूरा गरी सशस्त्र प्रहरी बलकी कृष्णेश्वरी सिन्तकला तृतीय बन्नुभयो ।

त्यसैगरी १० किलोमिटर पुरुषतर्फ नेपाली सेनाका शिव रायमाझी प्रथम, श्रीकाश राई द्वितीय र गणेश सिंह ठकुरी तेस्रो हुनुभयो । रायमाझीले ३३ मिनेट १५ सेकेण्ड, राईले ३३ मिनेट २५ सेकेण्ड र ठकुरीले ३३ मिनेट ४४ सेकेण्डमा दौड पूरा गर्नुभएको थियोे । दश किलोमिटरको दौडमा महिलातर्फ पनि नेपाली सेनाकै सानुमाया कार्की प्रथम, सीता सेन द्वितीय र सीता चौधरी तृतीय बन्नुभयो । कार्कीले ४० मिनेट २२ सेकेण्ड, सेनले ४३ मिनेट ५३ सेकेण्ड र चौधरीले ४४ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गर्नुभयो ।

यसैगरी २१ किलोमिटर पुरुषतर्फको दौडमा नेपाली सेनाबाटै प्रथम स्थानमा गजेन्द्र राई, द्वितीय स्थानमा रामजी बस्नेत र तृतीय स्थान मिलन कार्कीले हासिल गर्नुभयोे । राईले एक घण्टा १२ मिनेट २१ सेकेण्डमा, बस्नेतले एकघण्टा १३ मिनेट ९ सेकेण्डमा र कार्कीले एक घण्टा १४ मिनेट १५ सेकेण्डमा दौड पूरा गर्नुभयोे । एक्काईस किलोमिटर महिलातर्फको दौडमा एक घण्टा २६ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरी नेपाली सेनाकै खेलाडी विश्वरुपा बुढा प्रथम, एक घण्टा ३० मिनेटमा दौड पूरा गरी नेपाली सेनाकै पूर्णलक्ष्मी न्यौपाने द्वितीय र एक घण्टा ३५ मिनेट ३५ सेकेण्डमा दौड पूरा गरी नेपाल प्रहरीकी रेखा विष्ट तृतीय बन्नुभयो ।

प्रतियोगितामा पुरुष तथा महिला म्याराथनतर्फ पहिलो हुनेले रु एक लाख, दोस्रो हुनेले रु ५० हजार तथा तृतीय हुनेलाई रु २५ हजार पुरस्कार प्राप्त गरे । पुरुष तथा महिला हाफ म्याराथनतर्फ पहिलोले रु ५० हजार, दोस्रोले रु २५ हजार र तृतीयले रु १५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

बुटवलको गोलपार्कबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको दौड प्रतियोगिता जीतगढी किल्लामा समापन भएको हो । उपप्रधान तथा रक्षामन्त्री पोखरेल, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललगायतले पनि दौडमा सहभागी भएर खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया