राष्ट्रिय एकता र अखण्डता रक्षाका लागि एकताबद्ध बनौं : उपप्रधानमन्त्री

  पुष २६, २०७६

रुपन्देही, २६ पुस : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालय बुटवलले आज जितगढी किल्लामा आयोजना गरेको राष्ट्रिय एकता दौड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि सबै जनतालाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहेको धारणा राख्नुभयो ।

“यो खेल र दौडको मात्र कुरा होइन, राष्ट्रिय भावनामा सबैलाई एकताबद्ध बनाउने अवसर हो”, उहाँले भन्नुभयो, “हामी इतिहासको संरक्षण र प्रवद्र्धन गर्न चाहन्छाँै ।” रक्षामन्त्री पोखरेलले वीर नेपाली पुर्खाहरूले जीत हासिल गरेको ऐतिहासिलस्थलमा सेनाको तत्परतामा कार्यक्रम आयोजना गरी पुर्खाको सम्झना र सम्मान गरेको बताउनुभयो ।

“यतिबेलाको आवश्यकता कुनै पनि पार्टी, सङ्गठन र अभियानमा लागेका सबै नागरिकहरू म र मेरो भन्ने कुराबाट होइन, हामी र हाम्रो भन्ने चेतनाबाट जागृत हुन आवश्यक छ । तबमात्र हाम्रो मुलुकलाई गौरवशाली मुलुक भनेर सम्झन सक्छौँ,” उहाँले भन्नुभयो । उहाँले सरकार अहिले नेपाल भ्रमण वर्षको राष्ट्रिय अभियानमा लागेकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले बनाएका योजना सफल पार्न सबैको साथ र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले खेलमा सहभागी र विजयी खेलाडीहरूलाई बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा मध्यपश्चिम पृतनाका पृतनापति उपरथी सीताराम खड्काले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया