१५ घन्टासम्म निरन्तर हिमपात, जनजीवन प्रभावित

  पुष १९, २०७६

मनाङ, १९ पुस : मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ । पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो ।

बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकार बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध भएको छ भने खानेपानीको समेत अभाव भएको छ । सडकभरि दुई÷तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन, उहाँले भन्नुभयो, “अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस १२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बध्य भएका छौँ ।”

अहिले मनाङको सबै भागमा हिमपात भएको छ । जिल्लाकै सबैभन्दा तल्लो भाग नासो गाउँपालिकासमेत प्रभावित भएको अध्यक्ष चन्द्र घलेले बताउनुभयो । हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपय र मनाव जीवनलाई कष्टकर बनाएको उहाँको भनाइ छ । जिल्लाको तल्लो भाग ताचैगाउँ, नाँचैगाउँ, ओडारगाउँ र धारापानीमा समेत बाक्लो हिमपात परेको छ । नासो–२ का वडाध्यक्ष भीमबहादुर गुरुङका अनुसार अहिले हिमपात रोकिएको छ, बादल खेलिरहेको छ, पुनः हिउँ पर्ने सम्भावना अझै रहेको छ । गाउँघरमा केटाकेटी र बूढाबूढीलाई चिसोले सकस बनाएको उहाँले बताउनुभयो ।

अवरुद्ध राजमार्ग १२ घण्टापछि सञ्चालन
हिमपातका कारण शुक्रबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग झण्डै १२ घण्टापछि सञ्चालन भएको छ । शुक्रबार दिउँसोदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए ।

सडक डिभिजन कार्यालयको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि आज बिहानदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा शुक्रबार रातिदेखि अलपत्रमा परेका सवारीसाधन अहिले राजमार्ग सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतिर लागिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको उक्त भीमदत्त राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा बन्द भएको ट्राफिक प्रहरी पोष्ट बुडर डोटीले जनाएको छ । डडेल्धुराअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साहुँ खर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब तीन फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको गैराका स्थानीय मोहन मल्लले जानकारी दिनुभयो ।

त्यस्तै हिमपातका कारण अवरुद्ध भएको डडेल्धुरा, बैतडी जोड्ने दशरथ चन्द राजमार्ग पनि सञ्चालन भएको छ । हिमपातका कारण उक्त राजमार्गमा रोकिएका सवारी साधन तथा यात्रुहरू राजमार्ग सञ्चालन भएपछि अहिले आफ्नो गन्तव्यतिर लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

त्यसैगरी बाक्लो हिमपातले क्षति गरेका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल टेलिकमको सम्पूर्ण फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ । हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला शुक्रबारदेखि सञ्चार सम्पर्कविहीन हुन पुगेका छन् । बिहीबार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमको दिपायलस्थित राजपुर कार्यालयले जनाएको छ । अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालनका लागि शुक्रबारदेखि नै कर्मचारी खटिएको भए पनि हिमपातका कारण सञ्चालन गर्न नसकिएको सो कार्यालयका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिनुभयो । फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाका सञ्चारकर्मीले आफना सञ्चार प्रकाशन तथा प्रसारण केन्द्रमा समाचार पठाउन सकिरहेका छैनन् ।

त्यस्तै इन्टरनेट सेवा अवरुद्ध भएपछि शुक्रबार दिउँसो डोटीमा बैंकिङ कारोवारसमेत प्रभावित भएको थियो । इन्टरनेट सेवा नहुँदा बैंकिङ कारोवार बन्द भएपछि सेवाग्राही रित्तो हात फर्किएका थिए । उता निजी कम्पनीको वल्डलिङ्क तथा सुबिसुद्वारा वितरित इन्टरनेट सेवा र एनसेलको फोन सेवा भने सञ्चालन रहेको छ । उक्त कम्पनीका नेट जडान भएका बैंकहरूमा भने शुक्रबार कारोवार भएको दिपायल पिपल्लाका स्थानीयवासी किरण भण्डारीले जानकारी दिनुभयो । हिमपातका कारण डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा पटक–पटक इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती हुने गरेको छ ।

आजबाट मौसम क्रमिक सुधार हुँदै जाने
पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज बेलुकाबाट क्रमिक सुधार हँुदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भूभाग हँुदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “आज मध्याह्नसम्म देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ”, मौसमविद् मानन्धरले भन्नुभयो । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाएको छ ।

राति देशको मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने साथै मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू–भागमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । सोमबार देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र अधिकतम तापक्रम नौ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । (रासस)

तपाईको प्रतिक्रिया