राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि

  पुष १९, २०७६

काठमाडौँ, १९ पुस : राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ । काठमाडौँको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो ।

आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारका अनुसार एकदिने प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ २० पुरुष र छ महिला राइडरले प्रतिस्पर्धा गर्नेछन् । घोडचढीप्रति आकर्षित गर्न महिला स्पर्धा राखिएको उहाँले बताउनुभयो । पुरुषतर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला सहभागी सबैलाई जनही रु पाँच हजार पुरस्कार दिइनेछ ।

प्रतियोगिता आयोजनाका लागि सङ्घका अध्यक्ष कर्णिकार, टिभीएसका ब्यापार तथा बिक्री वितरण महाप्रबन्धक दीपकप्रसाद रौनियार, कतार एयरवेजका सेल्स म्यानेजर सारिका बोगटी तथा मित्सुविसी र लिओन मोटर्सका प्रतिनिधि निभा सिंहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अध्यक्ष कर्णिकारले प्रतियोगितामा हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले अबका दिनमा जनस्तरमा लगिने बताउनुभयो ।

मैदान हिलाम्य भएपछि लिगका खेल स्थगित
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दशरथ रङ्गशालास्थित खेल मैदान हिलाम्य भएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज र भोलि हुने खेल स्थगित गरेकोे छ । मैदान खेल्न लायक नभएपछि पाँचौँ चरणका खेल अब सोमबारदेखि हुनेछन् ।

एन्फाका अनुसार सोमबार दशरथ रङ्गशालामा पहिलो खेल न्युरोड टिम र जावलाखेल युथ क्लबबीच तथा अर्को खेल मनाङ–मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीच हुनेछ । लिगको चौथो चरण सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ ।

मछिन्द्र क्लब दोस्रो, त्रिभुवन आर्मी क्लब तेस्रो, जावलाखेल चौथो, नेपाल पुलिस क्लब पाँचौँ, थ्री स्टार छैटौँ, ब्रिगेड ब्वाइज क्लब सातौँ, न्यू रोड टिम आठौँ, च्यासल युथ क्लब नवौँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब दशौँ, सङ्कटा क्लब ११औँ, हिमालयन शेर्पा क्लब १२औँ, फ्रेन्डस् क्लब १३औँ तथा सरस्वती युथ क्लब १४औँ स्थानमा छ । (रासस)

तपाईको प्रतिक्रिया