विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यले गति लिँदै

  पुष ०८, २०७६

वीरगञ्ज, ८ पुस (रासस) : पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जिनीयर सुमोद पोखरेलले राससलाई बताए ।

संघीय सरकारको करिब सवा तीन अर्बको लागतमा निर्माण भइरहेको सो ट्रयाकको ठेक्का पाएका ठेकेदारले रौतहट जिल्लाको वाग्मतीदेखि धन्सारसम्म करिब २३ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम द्रुतगतिमा भइरहेको बताइएको छ । रेल्वे विभागले तीन वटा लिंक लाइनसहित पूर्व पश्चिम राजमार्गको एक हजार तीन दशमलव आठ किलोमिटरसम्मको विद्युतीय रेलमार्ग १० वटा प्याकेजमार्फत निर्माण गर्न लागिएको छ ।

एकदेखि पाँच नम्बरसम्मको प्याकेजको ठेक्का लिएका ठेकेदार कम्पनीले साढे दुई वर्षभित्र सबै काम पूरा गरी सक्नुपर्ने गरी सरकारसँग सम्झौता गरेको छ । सोही सम्झौताअनुसार अहिले ट्रयाक निर्माणसँगै पुल निर्माणको काम पनि शुरु गरेको छ । जसअन्तर्गत सो क्षेत्रको वाग्मती, पौराइ, लमाहा, चाँदी, सत्यारी र अमोमा खोलामा छ वटा पुल निर्माण गरिने बताइएको छ ।

विद्युतीय रेलमार्ग निर्माणको क्रममा सोही क्षेत्रमा पर्ने हरियो रुख काट्नुपर्ने देखिएकाले सो रुख काटन स्वीकृतिको लागि वन विभागमा पत्राचार गरिएको डिभिजन वन कार्यालय चन्द्रपुरले जनाएको छ । अहिले सो क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया