‘दिवा खाजा’ले विद्यार्थी खुशी

  मंसिर ३०, २०७६

वालिङ, ३० मंसिर : यहाँका सामुदायिक विद्यालयका बालविकास कक्षामा दिवा खाजाकार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

स्याङ्जाको भिरकोट नगरपालिकाअन्तर्गतका ४२ वटा सामुदायिक विद्यालयका बालविकास कक्षामा दिवा खाजाकार्यक्रम लागू भएसँगै कक्षामा नियमित उपस्थित हुने र शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुचि बढ्दै गएको नगर प्रमुख छायाराम खनालले राससलाई बताए ।

विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, पहुँचबाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयप्रति आकर्षण गर्ने, कक्षा बीचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्दै अन्ततः सिकाई उपलब्धि वृद्धि गर्ने दिवा खाजाकार्यक्रमको मुख्य उद्देश्य हो’, नगर प्रमुख खनालले भने, ‘कार्यक्रम लागू भएसँगै नियमित विद्यालय उपस्थित हुने दर बढेर गएको छ ।

बालविकास कक्षामा अध्ययनरत ससाना बालबालिकाले दिउँसोको खाजा आफँै व्यवस्थापन गर्न नसक्ने हुँदा उनीहरूलाई स्वच्छ र सफा खाजा विद्यालयमै बनाएर दिने व्यवस्था मिलाइएको नगर प्रमुख खनालले बताए ।

कार्यक्रम लागू भएपछि अध्ययनरत बालबालिकाका अभिभावक आलोपालो गरेर विद्यालयमै उपस्थित भई पकाएर खुवाउने गर्नुहुन्छ’, नगर प्रमुख खनालले भने, ‘जसले गर्दा अभिभावक नियमित विद्यालय आउने भएकाले पनि विद्यालय र अभिभावकबीच अझै आत्मियता बढेर गएको छ ।

दिवा खाजाकार्यक्रमलाई नगरपालिका, अभिभावक र विद्यालयको संयुक्त लगानी तथा साझेदारीमा परामर्श गरी आगामी शैक्षिक सत्रबाट क्रमशः आधारभूत तहसम्म विस्तार गर्ने सोचाइमा रहेको जनाइएको छ ।

नगरपालिकाभित्रका ४२ सामुदायिक विद्यालयमा बालविकास कक्षा सञ्चालन छन् भने ५२४ विद्यार्थीले दिवा खाजामा सहभागी छन्’, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले भने, ‘दिवा खाजाको ब्यवस्थापनका लागि नगरपालिकाले प्रति विद्यार्थी प्रतिदिन आठ र प्रत्येक बालविकास कक्षाका लागि ग्यास चुल्हो तथा पकाउन आवश्यक पर्ने भाँडा दिएको छ ।

यही मंसिर १ गतेबाट शुरु भएको यो अभियान एक महिनाको अवधिमै निक्कै प्रभावकारी बन्दै गएको दाबी अधिकृत आचार्यको छ । दिवा खाजाको शुरुआतसँगै नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको पाएका छौँ’, अधिकृत आचार्यले भने, ‘विद्यालयको पहुँचबाहिर रहेका र बीचमै कक्षा छाडेर जाने विद्यार्थी पनि पुनः विद्यालयमा फर्कने क्रम बढ्दै गएको छ ।

प्रत्येक दिन आलोपालो गरी अभिभावक विद्यालयमा आएर फरक खाजा पकाएर खुवाउने गरेको भिरकोट३ मा रहेको शहीद शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चोलाकान्त काफ्लेले बताए । दिवाखाजा कार्यक्रमअन्तर्गत २४ जना बालबालिकालाई बारअनुसार खाजाको व्यवस्था गरिएको छप्रअ काफ्लेले भने, ‘खाजामा जाउलो, सुख्खा रोटी, तरकारी, अण्डा चना, फलफूल छन् ।

विशेष गरी विद्यार्थीका आमा आआफ्नो पालोमा विद्यालयमा आएर कार्यालय सहयोगीको साथ लिई खाजा तयार गरेर खुवाएर जाने गरेको भिरकोट८ मा रहेको भाग्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमप्रसाद रेग्मीले बताए । दिवा खाजा कार्यक्रमले अभिभावकमा उत्सुकता र विद्यार्थीमा खुशी थपिएको छ’, प्रअ रेग्मीले भने, ‘हाल यस विद्यालयको बाल विकास कक्षामा २८ बालबालिका अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया